Shikhar Insurance

मैले देशको भविष्य अध्यारो देखिरहेको छुः सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डे
२०८० भाद्र १४, बिहीबार १७:२०
NIMB
Nabil Bank

काठमाडौं । हामी विशाल चीन र भारतको  बीचमा छौं । उनीहरु दुवै ठूलो बजार र ठूला अर्थतन्त्र हुन् । हामीलाई दुई ठूला मुलुकको बीचमा हुनुको लाभ पनि छ । अहिले नेपालमा विदेशी लगानीबारे अलि बढी हल्ला हुने गरेको छ । मलाई लाग्छ, नेपालमा चीनको बीआरआई परियोजनाको लगानी नै छैन । अहिले जति पनि परियोजनामा चिनियाँ लगानी भइरहेको छ, त्यो सबै नियमित प्रक्रियाबाटै आएका छन् । नेपालमा भारतीय लगानी नियमित भइरहेको छ । भारतले नेपाललाई नियमित रुपले सहयोग गरिरहेको छ । अमेरिकाको एमसीसी परियोजना भर्खरै सुरु भएको छ । नेपालको औपचारिक शिक्षामा अमेरिकाको ठूलो योगदान छ । नेपालबाट मलेरिया रोग उन्मूलनका लागि पनि अमेरिकाले नै सहयोग गरेको थियो ।

हामीले चीन, भारत, अमेरिका भनेर केही भनिरहनु पर्दैन । हामीलाई सबै देशको सहयोग चाहिन्छ । म जन्मिदा नेपाली थिएँ, मेराे चाहना भनेको नेपाल बनेको हेर्ने हो । नेपाल समृद्ध बनेको हेर्न मन छ । हाम्रो प्राथमिकता नै यही हुनुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हामी छिमेकी बदल्न सक्दैनौं । हामीलाई सबैको माया र सद्भाव चाहिन्छ । हामी कोही छिमेकीको पक्ष र कसैको विपक्षमा हुन्नौं । नेपालको हित हाम्रो केन्द्रमा छ । अर्थतन्त्रको कुरा गर्दा हामी राष्ट्रिय ऋणको चपेटामा परिरहेका छौं । हाम्रो स्वदेशी ऋण बढेको बढ्यै छ । अहिले नै १० खर्बभन्दा बढी स्वदेशी ऋण लिइसकेका छौं । यसैपालि पनि २४० अर्ब रुपैयाँ स्वदेशी ऋण उठाउने भनेका छौं । यो पूरै ऋण उठाउनुपर्ने बाध्यता सरकारलाई छ । फेरि स्वदेशी ऋण १० प्रतिशत हाराहारीको ब्याजमा लिनुपर्ने बाध्यता छ । यति महँगाे ऋण उठाएर कसरी देश बनाउने होला ? यो गम्भीर विषय हो ।

हाम्रो राजश्व निरन्तर घटिरहेको छ । भारतले चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ । हामीले भ्याट लगाई दिएका छौं । आन्तरिक उत्पादन बढाउने योजना छैन, आयातमा भ्याट थोपरेपछि मुद्रास्फीति सरकारले निर्धारण गरेको ६.५ प्रतिशत होइन १० प्रतिशत नाघ्ने देख्छु । अहिले फेरि नेपालमा विदेश जाने प्रतिष्पर्धा चलिरहेको छ । बल भएका, पैसा भएका र बुद्धि भएका सबै विदेश गइरहेका छन् । तर, हामी भने यहाँ देश बनाउने भनिरहेका छौं । यसरी देश बन्छ ? युरोप अमेरिका, अष्ट्रेलिया, जापान गएकाहरु नेपाल फर्कंदैनन् । बरु यताको सम्पत्ति बेचेर उतै लैजान्छन् । देशको भविष्य मैले अध्यारो देखिरहेको छु । अमेरिका, अष्ट्रेलिया, जापानले नेपाली विद्यार्थीलाई पढ्न भनेर उता लैजानुको सट्टा यतै राम्रा-राम्रा कलेजहरु खोलिदिए हुन्थ्यो भन्ने लाग्छ ।

अर्काे कुरा, अहिले नेपालीहरु भारत गएर चिनियाँ सामान खरिद गरेर नेपाल ल्याइरहेका छन् । नेपालले चिनियाँ सामान ल्याउन भन्सार बढी बनाइदिएको छ, भारत–चीन भन्सार दर कम भएकाले चिनियाँ सामानहरु पनि अब भारतको सिलिगुडी, दिल्लीबाट नेपाल आउन थालेको छ । यसले पनि कालान्तरमा जोखिम नै ल्याउँछ । अहिले देशको विदेशी मुद्रा सञ्चितिको अवस्था राम्रो छ तर अर्थतन्त्रमा घरेलु ऋणको उच्च जोखिम छ ।

विदेशीहरुलाई नेपाललाई ऋण पत्याउनै छाडे । बजेटमा प्रक्षेपण गरिएकोमध्ये मुस्किलले २०.२२ प्रतिशत विदेशी ऋणमा ल्याउन सकिएको छ । पछिल्लो समय विदेशीहरुले अनुदान त दिनै छाडेका छन् । बजेटमा प्रक्षेपण गरिएकोमध्ये १० प्रतिशत ल्याउन पनि मुस्किल परिरहेको छ ।

नेपालले चाँडो विकास र समृद्धिको यात्रा तय गर्न ठूला शक्ति राष्ट्रहरुको सहयोग चाहिन्छ । चिन र भारतले बर्सेनि एक एक करोड पर्यटक पठाइदिने हो भने नेपालको समृद्धि यात्रा चाँडो पूरा हुनेछ । ती पर्यटकका लागि आवश्यक पूर्वाधार र प्याकेज बनाउन सरकार र निजी क्षेत्रले लगानी गर्नेछ । त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुनसक्छ ।

हाम्रा लागि चीन र भारतको अर्थतन्त्र अवसर हो र सँगै चुनौती पनि हो । तर, हाम्रा मान्छेहरु नेपालमा अवसर छैन भनेर विदेश गइरहेका छन् । त्यसलाई रोक्न भूमिका खेल्नुपर्छ । (एसिया फाउन्डेसनले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेकपा(एमाले)का उपाध्यक्ष पाण्डेले राखेको धारणाको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्