Shikhar Insurance

मधेस प्रदेशमा बिमाको पहुँच बढाउन बिमा कम्पनीहरूलाई निर्देशन

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बिमाको पहुँच उल्लेख्य रूपले बढ्ने गरी कार्य गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बिमा प्राधिकरणबाट यही कात्तिक १ गते बुधबार मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बिमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बिमकहरूलाई निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बिमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाललाई तालिम सञ्चालन गर्न लगाउने जानकारी दिँदै अध्यक्ष सिलवालले स्थानीय आवश्यकता अनुरूपको नयाँ बिमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बिमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटि नहुने गरी काम गर्न बिमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिँदै बिमाका सिद्धान्तविपरीत बिमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बिमा गर्नसमेत निर्देशन दिए ।

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बिमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीके महर्जनले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले बिमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बिमा निर्देशिकामा धेरै सुधार भए पनि केही विषयहरू अझै स्पष्ट पार्नुपर्ने, कोरोना बिमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाइ गर्न नहुने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा मधेस प्रदेशस्थित बिमकका प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू र सरोकारवालाहरू लगायतको सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्