Shikhar Insurance

धरानमा औद्योगिक ग्राम चाहियोः व्यवसायी

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १०:५५
NIMB
Nabil Bank

धरान । धरानका व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् । धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभामा आज नौ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रलाई जग्गा उपलब्ध गराउन र औद्योगिक ग्राम निर्माणको माग गरेका हुन् ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठले सार्वजनिक गर्नुभएको धारणापत्रमा धरानमा प्रदर्शनीस्थल निर्माण, सुरुङमार्ग, निर्माणाधीन अवस्थामा रहेको तमोर करिडोरमार्ग र मदन भण्डारी राजमार्गको निर्माण प्राथमिकतामा राख्न पनि माग गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, धरानस्थित कृषि उपज बजारलाई आधुनिकीकरण गरी उत्पादनमूलक बनाउन माग गरिएको छ । साथै विष्णुपादुका–वराहक्षेत्र–पाँचकन्या–रामधुनी क्षेत्रलाई जोड्ने र सम्पर्क स्थापित गर्ने ‘लिङ्क रोड’का रुपमा धार्मिक पर्यटकीय मार्गको विकासका लागि आवश्यक सहयोग गर्न पनि माग गरिएको छ ।

अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रको नीति तर्जुमामा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राखे । उनले भने, “साना तथा मझौला उद्योगको संरक्षण र विकासका कार्यक्रम ल्याउन, महिला उद्यमीलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धि गर्न सकिने कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग आग्रह गर्दछौँ ।”

कोशी प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले निजी क्षेत्रसँगको सामूहिक प्रयासमा मात्र देशको आर्थिक विकास हुने बताए । उनले धरानको विकासमा काम भइरहेको जस्तो देखिए पनि परिणाम भने नदेखिएको बताए ।

नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोखरेलले धरानमा राजमार्गमै अवैधानिक रुपमा पार्किङ शुल्क उठाउन थालिएको भन्दै बन्द गर्न माग गरे । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्