Shikhar Insurance

पर्यटकीय सम्भावनाको अध्ययनबारे नागरिक उड्डयन मन्त्रालयको चासो

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १७:२०
NIMB
Nabil Bank

महोत्तरी । चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन सम्भाव्यताको खोजी हुने भएको छ । महोत्तरी जिल्लाको चुरे पर्वत श्रेणीका धार्मिक, ऐतिहासिक र वन्य पशुपक्षी बासस्थानका पर्यटकीय सम्भावनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो बढाएको हो ।

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय सम्भावनाबारे बर्दिबास उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तत्काल विज्ञको टोलीबाट सम्भाव्यता अध्ययन हुने जनाएको छ । “हामीले पर्यटन गन्तव्य पहिल्याउन थालिएको पदयात्राको पहिलो चरणको प्रतिवेदन मन्त्रीजीलाई बुझायौँ,” सङ्घका अध्यक्ष विष्णु खड्काले भने, “उहाँले सम्भाव्यता अध्ययन गर्न तत्काल विज्ञटोली खटाउने बताए ।” बर्दिबास उद्योग वाणिज्य सङ्घले स्थानीय समृद्धिको आधार पहिल्याउन पर्यटन मुख्य आधार हुनसक्ने हुँदा त्यस्ता ठाउँ पहिल्याउन चुरे क्षेत्रको पदयात्रा थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत साता गरिएको पहिलो चरणको पदयात्रामा भेटिएका गिद्धबास, सिद्धगुफा र पाषाणकालीन हतियार कारखाना क्षेत्र र राईमण्डल धार्मिकक्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुनसक्ने पदयात्रीको ठहर मन्त्रीलाई प्रतिवेदनका रुपमा बुझाइएको हो । चुरे पर्वत श्रेणीमा लोपोन्मुख पक्षी गिद्धको बासस्थान, तपस्यारत लामाको सिद्धगुफा, पाषाणकालीन हतियार कारखानाका अवशेष क्षेत्र, परेवापाखा र धार्मिकक्षेत्र राईमण्डलबारे पर्यटकीय सम्भावनाको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले विज्ञटोली नै पठाउने निर्णय भएपछि पदयात्रीमा हौसला बढेको हो ।

अबको दोस्रो चरणको पदयात्रामा जिल्लामा पर्ने चुरे पर्वत श्रेणीका पर्यटनका लागि सम्भावित बढीभन्दा बढी ठाउँको अवलोकन गर्नेगरी तालिका बनेको आयोजक संस्था बर्दिबास उद्योग वाणिज्य सङ्घले जनाएको छ । “यस क्रममा प्रसिद्ध धार्मिकस्थल पञ्चधुरा माईस्थान, टुटेश्वरनाथ महादेव मन्दिर, चुरे पर्वत श्रेणीकै सबभन्दा अग्लो मानिएको चनौटेडाँडा, चुरेकाछका बस्ती, यहाँका नदीनाला र जलाधारक्षेत्रसहितका रमणीयस्थल पनि हामी पुग्छौँ,” सङ्घका अध्यक्ष खड्का भन्छन्, “पदयात्राको पहिलो चरणको प्रतिवेदनबारे मन्त्री किरातीले देखाउनुभएको सकारात्मक चासोले हामीलाई हौस्याएको छ, यो काममा तीनै तहका सरकारको सहयोग, सद्भाव प्राप्त हुने विश्वास छ ।”

पदयात्राका क्रममा चुरेकाछका बस्तीको रहनसहन, व्यवसाय र सांस्कृतिक परम्परा, वेशभूषा र अन्य पक्षबारे पनि अवलोकनको अवसर पाइएको पदयात्रीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्