Shikhar Insurance

जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको काम सुरु

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १६:३५
NIMB
Nabil Bank

महोत्तरी । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको काम थालिएको छ । जयनगरदेखि धनुषाको कुर्था र कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म क्रमशः पहिलो र दोस्रो खण्डको काम सकिएर सेवा प्रारम्भ भएपछि नेपाल रेल्वे कम्पनीले यो आयोजनाको तेस्रो खण्डको काम थालेको हो ।

तेस्रो खण्डमा भङ्गाहादेखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम थालिएको छ । जम्मा ६९ किलोमिटरको यो आयोजनालाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र दोस्रो कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर दूरीसहित जम्मा ५२ किमीभित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइएको छ । दुई खण्डको काम सकिएर सेवा सञ्चालनमा ल्याएपछि अब तेस्रो खण्डको काम थालिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिबास खण्ड)को १७ किमी दूरीभित्रको कामको प्रारम्भिक चरणमा मुआब्जा वितरण अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झा बताउँछन् । “तेस्रो खण्डको मुआब्जा वितरण अन्तिम चरणमा छ,” झा भन्छन्, “मुआब्जा वितरण सकिनासाथ निर्माण कार्य अघि बढ्छ ।” यस खण्ड (तेस्रो खण्ड) मा पर्ने १ सय २३ बिघा जग्गामध्ये ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको कम्पनीले जनाएको छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा र बर्दिबास (साबिक किसाननगर र बर्दिबास गाविस) एवं धनुषाको मिथिला (साबिक बेङ्गाडावर गाविस) नगरपालिकाका जग्गा पर्छन् ।

यस खण्डमा मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गामा अहिले सर्वेक्षण गरिँदैछ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको यो आयोजनाको तेस्रो खण्डमा अहिले नेपाल भारतका प्राविधिकको संयुक्त टोलीले सर्वेक्षणका काम गरिरहेका महाप्रबन्धक झाको भनाइ छ । यस खण्डमा परेका जग्गाभित्रका संरचना र बालीनाली खाली गर्न सम्बद्ध यसअघिका जग्गाधनीलाई सूचना जारी भइसकेको र त्यसअनुसार घरबाहेकका धेरैजसो जग्गा खाली भएका छन् । अब घरसहित संरचना भएका ठाउँको मुआब्जा दिएर खाली गराइने छ ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सम्झौताअनुसार यहाँ रेल्वे सेवा विस्तारको काम थालिएको हो । सोअनुसार पहिलो खण्डमा विसं २०७८ चैत ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालनमा आएको थियो ।

त्यतिखेर राष्ट्रपति डा यादवको भारत भ्रमणका अवसरमा जयनगरदेखि बर्दिबास, भारतको पश्चिम बङ्गालको जलपाइगोडीदेखि काकडभिठ्ठा, भारतको विहारमा पर्ने बथनाहादेखि विराटनगरसम्म, भारतको उत्तरप्रदेशको नौतनमादेखि भैरहवासम्म र भारतको उत्तरप्रदेशकै रुपैडिहादेखि नेपालगञ्जसम्मको सेवा विस्तार गरिने सम्झौता भएको थियो ।

सम्झौतामा नेपालले जग्गा उपलब्ध गराउने उल्लेख भएअनुसार जग्गाको मुआब्जा नेपाल सरकारले दिँदै आएको छ भने निर्माण कार्य सम्झौताअनुसार भारत सरकारले गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्