Shikhar Insurance

जङ्गली जनावरबाट बाली जोगाउन किसानलाई मुस्किल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार ११:०८
NIMB
Nabil Bank

बेदकोट । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का किसानलाई जङ्गली जनावरबाट बाली जोगाउन सकस भएको छ । किसानको जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको भएकाले त्यहाँका जङ्गली जनावरबाट खेती बाली जोगाउन मुस्किल भएको हो ।

बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । बेलडाँडी–५ झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले भनाइ छ । गिरीले भने,“निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ । खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।”

Citizen Life
Kumar Bank
Nepal Life

गिरीको मात्रै होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् । नन्दाले भने,“काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ । यसले केही हदसम्म जनावर भाग्छन् ।” राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आएम्न उनले जनावरबाट जोगाउन सके वार्षिक ४ लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताए । “यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन । रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।” उनले भने । राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । बेलडाँडी–५ कै श्यामलाल रानाले भने,“राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो । तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।”

GBIME

प्रतिक्रिया दिनुहोस्