Shikhar Insurance

कृत्रिम ताल निर्माणका लागि करिब २ करोड बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १६:३५
NIMB
Nabil Bank

दमौली । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरको नारेश्वर ताल निर्माणका लागि करिब २ करोड बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षमा ताल निर्माणका लागि गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत १० लाख, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोजन भएको हो ।

प्रदेश सरकारसँगको साझेदारीमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने उद्देश्यले ताल निर्माण गर्न लागेको हो । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार ताल निर्माणका लागि बाँध बनाउन सुरु गरिएको छ । कृत्रिम ताल सिँचाइ, मस्त्यपालनलगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ । ताल निर्माणका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत १० लाख, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोजन भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको १ करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी ५ लाख ५० हजारका दरले र दोयमलाई प्रति रोपनी ५ लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ ।

ताल निर्माणका लागि करिब ४ करोड बजेट लाग्ने अनुमान छ । ताल निर्माणका लागि १ करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । ताल निर्माणको ठेक्का जिएस निर्माण सेवाले पाएको छ । विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गरेका थिए । तर काम अगाडि बढ्न सकेको थिएन । तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए ।

तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछ भने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव पचासी (जगमा) देखि एक दशमलव ५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । “ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्,” पोख्रेलले भने,“तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्