Shikhar Insurance

५ करोडमा ठेक्का सम्झौता भएको पुल सात वर्षसम्म पनि अधुरै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १५:३५
NIMB
Nabil Bank

बेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल अलपत्र बनेको छ । ५ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको करिब ७० मिटर लामो उक्त पुल सात वर्षदेखि अलपत्र बनेको हो ।

पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिसरपैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् । समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए । उनले भने,“बर्खामा आउने खोलाले बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्न समस्या हुन्छ । पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताए । “सुविधासम्पन्न बाटो र पुल नहुँदा कोही बिरामी परे पनि लैजान समस्या हुने गरेको छ । एम्बुलेन्स आउन मान्दैनन् । समयमै अस्पताल पु¥याउन नसक्दा कतिपयले बाटोमै ज्यान जाने डर रहन्छ ।” खत्रीले बताए ।

खोलामा पुल नहुँदा स्थानीय अहिले पनि कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । यथाशिघ्र पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । स्थानीय गणेश रावतले भन्छन्,“पुल बन्ने भनेको यत्रो समय बितिसक्दा पनि बनेको छैन । यहाँका नागरिक सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । अब त निर्माण हुन्छ भन्ने आशा पनि छैन ।” विसं २०७४ फागुन १५ गते सक्ने गरी विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले ५ करोड ४७ लाखमा उक्त पुल निर्माणको ठेक्का पाएको थियो ।

पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए । “पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ । निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।”उनले जानकारी दिए ।

सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्