Shikhar Insurance

इप्पानको पहलमा विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानहरुको जाँचपास सुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरु भित्रिन थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले रोकिएका सामानहरु छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेपछि सामानहरु भित्रिन सुरु भएका हुन् ।

इप्पानका महासचिव बलराम खतिवडाले आयोजनाका सामानहरु भन्सारमा रोकिएपछि सोमबार विराटनगर भन्सार कार्यालयलमा पुगेर सहजिकरणको लागि पहल गरेका थिए । मंगलवारबाट आयोजनाका सामानहरु जाँचपास सुरु भइसकेको खतिवडाले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विगतमा विद्युत विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो ।

त्यसरी भन्सारले जाँचपास रोकेपछि १ दर्जन जलविद्युत आयोजनाले मगाएका पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करीब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए ।

आयोजना प्रर्द्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस् रहेकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरु अन्यौलमा परेका थिए । इप्पानले उक्त अन्यौल हटाउन सहजिकरण गरेपछि सामानहरुको जाँचपास सुरु भएको हो ।

अबदेखि प्रवर्द्धक कम्पनीका साथ साथै आयोजनाको नाम र क्षमता पनि सबै बील बिजकमा उल्लेख गरेर सिफारिस गर्ने सहमति गर्दै सामान जाँचपास सुरु गरिएको खतिवडाले बताए । उनले विद्युत विकास विभागलाई पनि सोही अनुसार सिफारिस बनाइदिन अनुरोध भइसकेको जानकारी दिए ।

५०० भन्दा बढी विद्युत आयोजनाहरु सदस्य रहेको निजी ऊर्जा उत्पादकहरुको साझा संस्था इप्पानले ऊर्जा आयोजनाहरुका समस्या समाधानका लागि सरोकारवाला निकायमा निरन्तर सहजिकरण गर्दै आएको छ । ऊर्जा उत्पादकहरुका कुनै पनि समस्याका वारेमा इप्पानलाई जानकारी गराएमा इप्पानले सधैं सहजिकरण गरिदिने पनि महासचिव खतिवडाले जानकारी दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्