Shikhar Insurance

बजेट अभावमा राप्ती सोनारी रङ्गशाला अलपत्र

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १६:०२
NIMB
Nabil Bank

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएको हो ।

रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए । उनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए । राप्ती सोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए । व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए । देवकोटाले भने, “विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ । यो आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको छ, त्यसबाट मर्मतसम्भारको काम गर्ने तयारी गरेका छौँ ।”

यस वर्ष राप्ती सोनारी रङ्गशालामा आएको १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए ।

बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रङ्गशालालाई पूर्णता दिँदै नरैनापुर रङ्गशाला र कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्