Shikhar Insurance

रुपाताल परियोजनाका बासिन्दाले जग्गा मुआब्जा एवं फुकुवा गर्न माग

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार ११:४२
NIMB
Nabil Bank

गण्डकी । कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरुको रहेकोे बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताएका हुन् ।

वि.सं २०६६ देखि स्थानीयवासीको १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ रहेको छ । अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै ३ सय परिवार मुआब्जा पाउनबाट वञ्चित छौँ उनले भने पटकपटक आवाज उठाउँदा पनि परियोजना कार्यालय र स्थानीय प्रशासनबाट कुनै सुनुवाइ हुन सकेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

रोक्का रहेको सबै जग्गा परियोजनाले लिने भएमा चलनचल्तीको मूल्यअनुसार मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ । वर्षौंसम्म जग्गा रोक्का रहँदा अंशबण्डा, बेचबिखनसमेत गर्न नपाएको रुपाकोट गाउँपालिका–६ का सीता अधिकारीले बताए । जग्गाको उचित मुआब्जा निर्धारण र जग्गा फुकुवा नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ रहेको छ ।

परियोजनाका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण विकले नौ सय ९५ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको जानकारी दिए । ८७ करोड मुआब्जा वितरण भइसकेको छ, रोक्का रहेकोमध्ये ४ सय ७७ रोपनी अधिग्रहण गरेर मुआब्जा दिन बाँकी छ उनले भने परियोजनालाई आवश्यक पर्नेबाहेकको जग्गा फुकुवा गरेर फिर्ता गर्छौं ।

मुआब्जा र फुकुवाको निर्णय एकैपटक गर्न नमिल्ने भएकाले प्रकृयागत ढिलाइ भएको सूचना अधिकारी विकले बताए । आन्दोलनरत स्थानीयवासीको माग पूरा गर्ने हिसाबले छलफल अगाडि बढेको उनको भनाइ रहेको छ । पोखरा महानगरपालिका र रुपाकोट गाउँपालिकाको सीमामा पर्ने रुपातालको संरक्षणसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सञ्चालित छ ।

बाँध बनेपछि तालको क्षेत्रफल एक सय ८० हेक्टरमा फैलिने परियोजनाका सूचना अधिकारी विकले जानकारी दिए । वि.सं २०८२ सम्ममा बाँध निर्माण र विसं २०८५ भित्र परियोजनाको सम्पूर्ण काम सक्ने लक्ष्य लिइएको उनको भनाइ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्