Shikhar Insurance

आफैँ आत्मनिर्भर बन्दै वृद्ध-वृद्धा

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १४:१९
NIMB
Nabil Bank

काठमाडौं । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौं दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन् । किनकी उनको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उनी भन्छिन्,“सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”

पाटनढोका नजिकै रहेको चौतारा मुनि उनको दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्छिन् । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्छिन् । उनको केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छिन्, गणेशमाया ।

Citizen Life
Kumar Bank
Nepal Life

दश वर्षभन्दा बढी भयो उनी त्यही चौतारामा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उनकै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउँछिन् उनी । उनले भनिन्,“छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ । दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।”

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उनले त्यसको आफ्नै उपचार अपनाएकी छन् । बाह्रहाते पटुकी कसेर व्यापार गर्छिन् । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बसेकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी लामा आफैँ कलङ्की पुगेर होलसेलमा सामान ल्याउँछिन् । उनको सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् ।

कुन समय हो लामालाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर जिउ पाल्न सन्तानसहित काठमाडौं पसेकी थिईन् । पाटनमा बस्ने उनी एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्छिन् । “दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाउ हुन्छ । हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।” लामा सुनाउँछिन् । मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेकी छन् । मनमाया सुनाउँछिन्,“खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।”

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुगिन् । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उनी काम नगरी बस्न सक्दिनन् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उनी नाङ्लोभरी बादम राखेर बेच्छिन् । हरियो मकैको याममा मकै राख्छिन् । यति मात्रै होइन, उनी एक्लै हिडेर कालीमाटी पुग्छिन् सामान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई ।

उनका श्रीमान मानसिक रोगले पीडित छन् । उनको स्याहार समेत गर्न भ्याएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउँछिन् । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उनले सन्तानलाई दिन चाहन्न् । धनकुमारी भन्छिन्,“अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ । हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।” धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउँछिन् । बिहानै ४ बजे उनको निद्रा खुल्छ । सबै सुतिरहेको बेला उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्छिन् । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिन्छिन् ।

काठमाडौँमा उनलाई कुनै बेला २ रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउँथे । त्यही रुपैयाँमा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले मह‘गाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया सुनाउँछिन् । उनी भन्छिन्,“मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।” बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्छन् । बुढौलीमा मन फुर्तिलो बनाउँन नियमित शारीरिक व्यायम जरुरी छ । मिजार बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जान्छन् । पूजापाठ गरेर व्यवसायमा सक्रिय छन् । उनले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरे । जागिरे जीवनमा हुँदा उनले आफैँले जुत्ता सिउने सीप सिकेको थिएनन् ।

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाए । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम उनले सिकेको थिएन । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिके । अहिले आफ्नै पसल सञ्चालन गरेर बसेका छन् । उनले भने,“सीप महत्वपूर्ण हुने रहेछ । बुढौलीमा काम आएको छ ।”

इन्द्रबहादुर अलि पुराना पुस्ताका हुन् । उनले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा इन्द्रबहादुर अलि चिन्तित छन् । उनलाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउँन सकिने बताउँछन् । ‘‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन । उमेर ढल्किदै गएपनि सिक्ने रहर उस्तै छ ।” उनले भने ।

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त भए । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुलेका छन् । जागिर छोडेर घरमै बस्ने मनसाय उनको थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाएका थिए । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आएका छन् ।

यतिबेला उनको अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । उनले सुनाउदै भने,“अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ । विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु । नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर ।” नारायण यो सोचको ठीक विपरीत मत राख्छन् । शरिरले साथ दिँदासम्म कर्म गर्नुपर्छ । उनका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।

नारायाणलाई उनकी आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो । “बुढौली उमेर बेकार हुँदैन । त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।”उनले बताए । नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउँन सिपालु छन् । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय बताउँछन् । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुुर्सद नै छैन उनलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् ।

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गरे । बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उनले एउटा उपाय अपनाएका छन् । हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुन्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गरे । खतिवडाले भने,“केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा । हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।”

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र वेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताए । राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् । बृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुल जनसङ्ख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् ।

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाई आएको उनले जाए । उनले भने,“बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो । जेष्ठ नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।” त्यस्तै, बुढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्