Shikhar Insurance

धुलिखेलमा राष्ट्रिय महिला हक्की प्रतियोगिता भोलिदेखि सुरु, विजेतालाई १ लाख नगद

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १३:५७
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति हक्की प्रतियोगिताको तयारी पुरा भएको हक्की सघं काभ्रेपलाञ्चोकले जनाएको हो ।

पाँच दिन सञ्चालन हुने प्रतियोगितामा प्रदेशस्तरका पाँच समूहका ९० खेलाडी सहभागी हुने संघले जनाएको छ । प्रति समूह १६ खेलाडी र दुईजना अफिसियल सहभागी हुने हक्की सङ्घका जिल्ला अध्यक्ष स्वस्तिक ब्याञ्जूले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने र नेपाल आर्मीका तर्फबाट एक सय २० जना सहभागी हुने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेलाइने छ । यस्तै समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माले प्रतियोगिताको विजेतालाई १ लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने बताए । हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार नगद पाउनेछन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनार्थ राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संस्थाले सहयोग गरेको छ । यसैबीच अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान गरिने भएको छ । त्यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख अशोक ब्याञ्जूले बताए । बागमती प्रदेशस्थित खेलकूद विकास परिषद्ले स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिरहेको छ ।

शर्माका अनुसार तीन वर्षमा तीन चरणमा स्टेडियम निर्माण हुनेछ । स्टेडियमको पहिलो चरणमा ग्राउन्ड, दोस्रोमा प्याराफिट र अन्तिममा ‘होस्टेल’ निर्माण हुनेछ । स्टेडियम करिब ८० करोडमा तयार हुने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्