Shikhar Insurance

स्वास्थ्य केन्द्रलाई बिरामीमैत्री बनाउन बागलुङको जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ११:५६
NIMB
Nabil Bank

बागलुङ । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैँ स्वास्थ्यकर्मीको भरमा चल्थ्यो ।

डा सुलभ शर्मा र कृष्ण सुवेदीसहितको टोलीले सेवा दिन थालेपछि भने नगर अस्पतालको रूपमा विकास भइरहेको स्वास्थ्य केन्द्र बिरामीको आडभरोसा बनेको छ । अहिले स्वास्थ्य केन्द्रमा आधारभूत तहको सबै स्वास्थ्य सेवा उपलब्ध छन् । उपकरण र प्रविधिले साथ दिँदासम्म चिकित्सकले बिरामी बाहिर पठाउँदैनन् । स्वास्थ्य केन्द्रलाई चुस्त व्यवस्थापन र बिरामीमैत्री बनाउन जैमिनी प्रयासरत छ । आधुनिक उपचार पद्धतिअनुसारको सेवाप्रवाहमा तत्कालै पुग्न नसके पनि उपलब्ध जनशक्ति र प्रविधिको भरपुर प्रयोग गरेर सेवालाई चुस्त बनाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्तिदेखि उपकरण, औषधि, तालिम र सचेतनामा नगरले लगानी बढाइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वास्थ्य केन्द्रमात्रै होइन प्राथमिक स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्योपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौँ प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्योपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्न कार्यविधि बनाएको छ ।

कोषमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नगरको योजना छ । कोषबाट सबै नागरिकले आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण बनाइने नगरप्रमुख नरबहादुर पुनले बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म बिस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निःशुल्क शल्यक्रियाको व्यवस्था, किशोरकिशोरीलाई स्वास्थ्य संस्था र विद्यालयसँगको समन्वयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नागरिकको स्वास्थ्यकर्मीबाट समुदायस्तरमा तथ्याङ्क सङ्कलन गरी बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रविधिमैत्री उपचार सेवा कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि ‘गर्भवतीको साथी पोषण’ कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोरमा सडक सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न जग्गा प्राप्ति भइसकेको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन जैमिनीले विपन्नको निःशुल्क स्वास्थ्य बीमा, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निःशुल्क शल्यक्रिया, किशोरकिशोरीका विद्यालय नर्स कार्यक्रम सञ्चालनमा ल्याएको छ । खोप सेवाको गुणस्तरीयता कायम राख्दै सुक्ष्म योजनासहित पूर्णखोप दिगोपनालाई सुनिश्चित गरिने नीतिलाई नगरले कार्यान्वयन गर्दैछ । नगरमा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन भएको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि गर्भवतीको साथी पोषणलगायतका कार्यक्रमद्वारा पोषणयुक्त नगर बनाउन स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बताउँछन् ।

गर्भवती भएदेखि १५ महिनासम्म स्वास्थ्यकर्मीको हेरचाहमा पूर्ण पोषण सेवा उपलब्ध गराएको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मीको पदपूर्ति र नेपाने सहरी स्वास्थ्य केन्द्रलाई आधारभूत स्वास्थ्य केन्द्रमा स्तरोन्नतिको काम सुरु भएको छ । उपप्रमुख शर्मा भन्छन्,“स्वस्थ नागरिकले मात्रै समृद्ध नगरका लागि योगदान गर्न सक्छन्, हामी स्वस्थ्य नागरिक उत्पादन गर्ने अभियानमा छौँ । यो कार्यकालमा स्वास्थ्य क्षेत्र बलियो बनाउनेगरी काम भइरहेको छ ।” नगर अस्पतालको पूर्वाधार विकास, प्रभावकारी सेवा वृद्वि र प्रविधिमैत्री बनाउने अभियान जैमिनीमा चलिरहेको छ । सुत्केरी, आकस्मिक बिरामी र जटिल दुर्घटनाबाट जोखिममा परेका नागरिकको उद्धार गर्न सबै वडामा पहुँच पुग्नेगरी एम्बुलेन्सको व्यवस्थापन नगरले सुरु गरेको छ । वडामा हेली उद्धारका लागि हेलिप्याड निर्माण भएका छन् ।

“देख्दा सामान्य लाग्ने तर जनताका लागि अत्यावश्यक र जीवनसँग जोडिएका स्वास्थ्य पूर्वाधार निर्माणमा हामी चुक्नु हुँदैन । जनताको जीवनरक्षा जैमिनीको प्राथमिकता हो” उनले भने । गर्भको जटिलता पहिचान गरी आवश्यकता अनुसार प्रेषण गर्न घुम्ती सेवामार्फत गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे सेवा’लाई निरन्तरता दिएको छ । सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधि तथा औषधिजन्य सामग्रीको वर्षभरि नै नियमित आपूर्ति गरेको नगरले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र पहुँच बढाउँदै लगेको छ । स्वास्थ्य बीमाबाट प्राप्त हुने औषधिलाई मेडिकल अधिकृतको उपस्थितिमा घुम्ती सेवामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ ।

जैमिनीले विपन्न नागरिकलाई मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियालगायत आठ प्रकारका रोगको उपचार गर्न १ लाखसम्मको सहुलियतसहितको विपन्न नागरिक उपचार गराउने सिफारिस तथा मिर्गौलाको प्रत्यारोपण, डायलायसिस, क्यान्सर, स्पाइनल इन्जुरीका बिरामीले प्रतिमहिना पाउने ५ हजार उपचार खर्च प्राप्त गर्न सहज व्यवस्था गरेको आचार्य बताउँछन् ।

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेको नगरले एकैपटक कयौँ रोगका बिरामीको उपचार गराएको छ । नगरले सञ्चालन गरेको शिविरबाट पहिचान भएका बिरामीले ठूला अस्पताल पुगेर स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाले आफ्ना नागरिकलाई मधुमेह र उच्च रक्तचाप भएमा निःशुल्क औषधिको अतिरिक्त थप दुई प्रकारका औषधिको व्यवस्था मिलाएको छ । स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम बस्ती तथा जोखिमयुक्त स्थानमा क्षयरोग र कुष्ठरोगका बिरामीको खोजपड्ताल कार्यक्रम सञ्चालनको तयारीमा समेत जैमिनी जुटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्