Shikhar Insurance

लोकबाजा संरक्षण गर्न सङ्ग्रहालय भवन निर्माण, प्रदेश सरकारद्वारा १ करोड बजेट

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १२:५३
NIMB
Nabil Bank

गलकोट । बागलुङको तङ्ग्राममा विश्वका लोकबाजा सङ्ग्रह गर्नका लागि सङ्ग्रहालय भवन निर्माण गरिएको छ । विश्वका लोक बाजा सङ्ग्रह गरेर संरक्षण, लोकबाजाको अनुसन्धानसँगै अवलोकन गर्ने पर्यटक भित्र्याउने उद्देश्यका साथ तीन वर्षअघि निर्माण थालिएको सङ्ग्रहालय भवनले अहिले आएर पूर्णता पाएको छ ।

काठेखोला गाउँपालिका–३ तङ्ग्रामस्थित धारागाउँमा गाउँमैत्री अक्षयकोषद्वारा गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सांकृतिक लोक बाजा सङ्ग्रहालय भवन निर्माण सम्पन्न भएर उद्घाटनको तयारीमा पुगेको छ । विसं २०७८ फागुन १७ गते शिलान्यास गरिएको सङ्ग्रहालय भवनको साढे तीन तला पक्की भवन सारङ्गीको आकृतिमा निर्माण निर्माण गरिएको छ । भवन निर्माण गर्नका लागि प्रदेश सरकारले तीन आर्थिक वर्षमा १ करोड १० लाख बजेट विनियोजन गरिएको थियो भने १५ लाखको श्रमदानमार्फत उक्त भवन निर्माण गरिएको गाउँमैत्री अक्षयकोषका अध्यक्ष चयन्द्रबहादुर थापाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त भवनमा अहिले देशकै ठूलो दाबी गरिएको दुई सय ८० किलोको नगरा राखिएको छ । उक्त सङ्ग्रहालयमा बुद्ध पूर्णिमा जेठ १० गतेको दिन बुद्धको मूर्तिसमेत प्रतिष्ठा गरिने थापाले बताए । उनले दशेकै ठूलो नगरा विधिवत्रुपमा बजाएर सङ्ग्रहालयको उद्घाटन गरिने योजना रहेको बताए । थापाले भने,“लोक बाध्य सङ्ग्रहालयमा देशकै ठूलो नगरा राखिएको छ, नगरासहित नेपाली लोकबाजा र विश्वका सबै बाजा सङ्ग्रह गरेर लोक बाध्य सङ्ग्रहालयको रुपमा विकास गरिने छ । अहिले केही विदेशका बाजासमेत आउने क्रममा छन्, २०८६ सालसम्म विश्वका बाजा अवलोकन गर्न विदेशी पर्यटक आउने र पञ्चकोट र ढोरपाटनलाई जोडेर पर्यटकीय केन्द्र बनाउने हाम्रो बृहत्तर योजना रहेको छ ।”

नगरा बजाउनका लागि स्थानीय नगर्र्चीद्वय जगरबहादुर परियार र सरबहादुर परियारलाई नियुक्तिसमेत गरिएको छ । लोपोन्मुख विश्वका मुख्य लोकबाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको गाउँमैत्री अक्षयकोष (जिमाक) संस्थाको अगुवाइमा सुविधा सम्पन्न साढे तीन तलाको भवन निर्माण गरिएको छ । स्थानीयले निःशुल्क प्रदान गरेको तीन रोपनी जग्गामा सुविधा सम्पन्न भवनसँगै शौचालय बनाइएको छ भने तारबार गर्नेलगायतको काम बाँकी रहेको छ ।

सारङ्गीको नमूनामा निर्माण सम्पन्न भएको भवन र देशकै ठूलो नगरा अवलोकनका लागि आन्तरिक पर्यटकसमेत आउन थालिसकेको लोक बाजा सांस्कृतिक सङ्ग्रहालयका परिकल्पनाकार हेमराज आश्रमले जानकारी दिए । “मुख्य भवन निर्माण गरेर उद्घाटन गर्न थाले पनि सांस्कृतिक सङ्ग्रहालयले पूर्णता पाउन अझै पाँच वर्ष लाग्नेछ, यो करोडौँको परियोजना हो, विदेशी बाजा झिकाउने कार्य भइरहेको छ, अहिले फ्रान्स, एसिया र युरोपका केही बाजा आइसकेका छन् । विश्वकै चर्चित पर्यटकीयस्थल ढोरपाटन र धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटलाई जोडेर सङ्ग्रहालयलाई पर्यटकीय हब बनाइने छ, यसलाई नयाँ टुरिजम सर्किटको रुपमा विकास गरिनेछ” आश्रमले बताए ।

सङ्ग्रहालय भवन परिसरमा पार्क निर्माण गर्ने, तारबार गर्नेलगायतका अन्य सहायक पूर्वाधारको काम बाँकी रहेको छ । विश्वभर रहेका विभिन्न देशका प्रमुख बाजासँगै नेपालका सबै लोकबाजाको सङ्ग्रह गरिने आश्रमले जानकारी दिए । साथै देशकै ठूलो नगरालाई गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा दाबी पेस गरेको उनले जानकारी दिए । “नेपालका लोकबाजा यहाँ देख्न सकिन्छ, जुन लोपसमेत हुन थालेका छन्”, उनले भने । सङ्ग्रहालयले लोकबाजाको पहिचान दिलाउँदै लोकबाजाको अध्ययन तथा अनुसन्धानस्थलका रुपमा समेत आफूलाई चिनाउने उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले तङ्ग्राममा रहेको सांकृतिक लोकबाजा सङ्ग्रहालयले समग्र बागलुङलाई विश्वभर चिनाउने बताए । उनले प्रचारप्रसारका लागि गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्