Shikhar Insurance

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १५:०७
NIMB
Nabil Bank

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उनले भने ‘बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।’ सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उनले भने ‘वनमा पहिला बेल त्यसै पाइन्थ्यो, अहिले बेल पाउन छाडेपछि हामी नै बेल खेतीमा लागेका छौं।’

Citizen Life
Kumar Bank
Nepal Life

श्रेष्ठका अनुसार आगामी असोजदेखि उद्योग सञ्चालनको तयारी गरिएको छ । पुनः सञ्चालनसँगै अदुवाको जुस उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले भने ‘बेल पाउन थालेपछि फेरि जुस उत्पादन गरी बिक्री गर्नेछौँ । उद्योग सञ्चालनमा ल्याएसँगै अदुवाको जुस पनि उत्पादन गर्ने योजना बनाएका छौं।’ म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको छवटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको थियो । वि.सं २०७१ मा युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि ११ लाख २८ हजार र छवटा सामुदायिक वनको ४ लाख ६० हजारको संयुक्त लगानीमा उद्योग स्थापना भएको थियो ।

सिद्ध बतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उक्त उद्योग स्थापना गरिएको थियो । सुरुमा सामुदायिक उद्योगको रुपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनका लागि छवटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति बनाइएको थियो । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरी वि.सं २०७४ असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।

छवटै सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णयबमोजिम सिद्ध बतासन सामुदायिक वनका सदस्यसमेत रहुनभएका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी उद्योग सञ्चालनको जिम्मेवारी दिइएको थियो । उद्योग सञ्चालकले ३० प्रतिप्याक (१२ बेल स्क्वाएस बोतल) र १२ प्रतिप्याक (१२ अदुवा स्क्वाएस बोतल) का दरले उद्योगलाई उपलब्ध गराउनुपर्ने सम्झौता थियो । वनबाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी (भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ ।

एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह ९चिनीरोग० का साथै पाचन शक्तिसमेत बढाउने चिकित्सक बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्