Shikhar Insurance

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:३७
NIMB
Nabil Bank

पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ ।

सामुदायिक विद्यालय खाली हुने अवस्था आएपछि जिल्लाका विभिन्न पालिकाले सक्रियता बढाउन थालेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालय सरह बनाउने उद्देश्यले विहादी गाउँपालिका, पैँयु गाउँपालिका र जलजला गाउँपालिकाले अभियान नै सञ्चालन गरेका छन् । विहादी गाउँपालिकाले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीसँग शैक्षिक अन्तक्र्रिया गरेको छ । यही वैशाख १६ गतेदेखि सुरु भएको सो अभियान वडा नं ६ शालिग्राम माविमा समापन हुँदै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तक्र्रियाका क्रममा थुुप्रै सुझाव सङ्कलन गरिएको र सोही सुझाव सल्लाहका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताए । सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गर्नुपर्ने सुझाव बढी आएका छन् । यसका लागि शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गराएर गुणस्तर सुधारमा लगाइने उनले बताए । सबै वडामा अन्तक्र्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सबै विद्यालयका प्रअबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखि नै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उहाँको भनाइ छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए ।

आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने अध्यक्ष गुरुङले बताए । यस्तै पैँयु गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको छ स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मङ्गलबार पैँयु गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले उद्घाटन गरे । विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने उनको भनाइ छ ।

विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्तमात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी कार्यक्रम ल्याइने छ । विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिए । “हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको धारणा बुझ्छौँ, विद्यार्थीका समस्या सुन्छौँ, वास्तविक समस्या पहिचान गर्छौं । आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं” उनले बताए ।

यसैगरी जलजला गाउँपालिकाले शिक्षकबाटै गुणस्तर सुधार्न प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा पाँच वर्षे विकास र गुणस्तर सुधारको प्रस्ताव माग गरेर प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । सोहीअन्तर्गत रहेर नयाँ प्रयोगका रूपमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो । गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउनसक्ने परिवर्तन, कार्यान्वयन गर्नसक्ने कार्यक्रमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नुपर्नेछ ।

जिल्लाका सातवटै पालिकामा गत शैक्षिकसत्रको अन्तिम परीक्षाको नतिजा निराशाजनक आएपछि गुणस्तर सुधार्न सक्रियता देखाएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्