Shikhar Insurance

बीमा कम्पनीहरूले एउटा बैंकमा २ वटामात्र खाता खोल्न पाउने, बैंकबाट अनावश्यक दुःख पाउने दिनको अन्त्य

सिंहदरबार संवाददाता
२०७८ चैत्र ८, मंगलवार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले अब एउटा बैंकमा २ वटामात्र खाता खोले हुने भएको छ । बीमा समितिले कम्पनीहरूलाई शाखैपिच्छे खाता खोल्नुपर्ने झन्झटबाट मुक्त गराउन लागेको हो ।

बैंकका शाखा व्यवस्थापकहरूको स्वार्थ पुरा गर्न बीमा कम्पनीहरूले शाखैपिच्छे खाता खोल्नुपर्ने बाध्यता थियो । जसका कारण बीमा कम्पनीलाई त्रैमास अन्त्यमा हिसाब मिलान गर्न निकै झन्झट हुने गर्थ्यो । यहीकारण वार्षिक साधारणसभा समेत निकै परसम्म धकेलिने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले शाखा व्यवस्थापकहरूलाई बिजनेस टार्गेट दिने गर्छन् । जसका कारण उनीहरू आफ्नो शाखामा खाता संख्या बढाउन लागि पर्छन् । लक्ष्य भेटाउनुपर्ने बैंकका शाखा व्यवस्थापकको बिजनेस स्टाइल घानमा बीमा कम्पनीहरू पनि पर्ने गरेका हुन् ।

वास्तवमा एउटा शाखामा खाता खोलेपछि अर्को शाखामा पनि सोही खाताको आधारमा कारोबार गर्न पाइन्छ । अझै बैंकहरूले एनि ब्रान्च बैंकिङ सिस्टम (एबीबीएस) सुविधा ल्याएपछि झनै सजिलो भएको छ ।

तर, बैंकका शाखा व्यवस्थापकको दबाबमा खाता खोल्नुपर्ने भएकाले नयाँ बीमा कम्पनीहरूकै खाता संख्या २ सय नाघेको छ । पुराना बीमा कम्पनीको त ४ सयभन्दा बढी बैंक खाता छन् ।

निर्जीवन बीमा कम्पनीहरूले हिसाब मिलान गर्न समस्या हुनुको मुख्य कारण बैंक भएको गुनासो गरेपछि बिमा समितिले उनीहरूको माग सम्बोधन गरिदिन लागेको छ ।

समितिले एउटा बीमा कम्पनीले एउटा बैंकमा बढीमा २ वटामात्र खाता खोल्न पाउने व्यवस्था गर्न लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारलाई जानकारी दिए । “बीमक संघको माग अनुसार हामीले यस्तो व्यवस्था गर्न लागेका हौं,” उनले भने ।

नेपाल बीमक संघको पदाधिकारी रहेका एक बीकमका अनुसार अहिले एउटै बीमा कम्पनीको साढे ४ सयभन्दा बढी बैंक खाता छन् । जसकारण उनीहरूलाई विवरण संकलन गर्न निकै गाह्रो हुने गर्छ । नयाँ कम्पनीहरू जीआईसी, अजोड र सानिमा इन्स्योरेन्सकै बैंक खाता संख्या २ सय भन्दा बढी भइसकेको उनले जानकारी दिए ।

“जुन शाखामा बिजनेस लिन गयो, सो शाखा व्यवस्थापकले खाता खोल्न बाध्य पार्छ,” ती बिमकले सिंहदरबारसँग भने, “अहिले एनि ब्रान्च बैंकिङ सिस्टम छ, एउटा शाखामा खाता भए अर्कोमा खोल्नै पर्दैन । तर, बैंकरहरूले प्रत्येक ठाउँमा खाता खोलाइदिएको हुन्छ ।”

कुनै बैंकको अनलाइन भएकाले हिसाब मिलान सजिलो हुने भएपनि कतिको अनलाइन छैन, कतै नेट चलेको हुँदैन । “स्टेटमेन्ट मगाएर हिसाब मिलान गर्नुपर्ने हुँदा बीमा कम्पनीहरू समयमा वार्षिक साधारणसभा गर्न समेत चुक्छन्,” उनले थपे । किनकी साढे ४ सय वटा खाताको हिसाब मिलान गर्नै कम्तिमा २ महिना लाग्ने ती बीमकको भनाइ छ ।

“त्यसकारण सबै बीमकको एकमत के छ भने सबै बैंकलाई डिपोजिट दिइहाल्छौं तर, खाता धेरै ठाउँमा खोल्नुपर्ने भएकाले समस्या भयो,” उनले भने, “बैंकलाई चाहिने भनेको निक्षेप हो, त्यो दिइहाल्छौं । खाता बढी हुँदैमा बढी निक्षेप मिल्ने होइन ।”

बीमकहरूले एउटा बैंकमा २ वटामात्र खाता खोल्ने व्यवस्था गरिदिन समितिमा मागे गरेका छन् । एउटा आम्दानी खाता (प्रिमियम जम्मा गर्ने), अर्को खर्च खाता (सञ्चालन खाता अर्थात् कार्यालयको खर्च) मात्र खोल्न पाउने प्रणाली भइदिए राम्रो हुन्थ्यो भन्ने कुरामा बीमकको एकमत छ ।

बैंकका कर्मचारीको जागिर जोगाइदिन बीमा कम्पनीहरूले दुःख किन पाउनुपर्ने ?  भन्दै बिमकले समिति गुहारेका हुन् । समितिले बीमकको कुरा सुन्दै निर्देशन दिएर बाध्यकारी व्यवस्थाको अन्त्य गरिदिन लागेको हो ।

“पुसभित्र वार्षिक साधारणसभा गर्न नसक्ने आरोप बीमा कम्पनीहरूलाई छ । तर, बुझ्न जरूरी यो छ कि यसको कारण बैंकहरू नै हुन्,” ती बीमकले भने ।

एउटा बैंकमा २ वटामात्र खाता खोल्न पाउने व्यवस्था भयो भने आफूहरूले धेरै सहज हुने उनको भनाइ छ ।

“एउटै वा दुईवटामात्र खाता भएपछि निगरानी गर्न हामीलाई पनि सहज हुन्छ । ४ सय वटालाई निगरानी गरिरहनु पर्दैन,” उनले भने, “४०-५० वटामात्र खाता निगरानी गरे भयो, अर्थात् ७५ प्रतिशत झमेला कम हुने रहेछ ।”

अहिले निर्जीवन बीमा कम्पनीहरूको करिब ७ हजार वटा बैंक खाता छन् । समितिको निर्देशनपछि करिब ६ हजार वटा खाता बन्द हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्