सीप सहितको लगानी र उचित प्रतिफल नै ‘नबिल दिगो बैंकिङ’को लक्ष्य हो

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार ११:१२

नबिल बैंकले २०७८ असार १५ गतेदेखि सुरु गरेको ‘नबिल दिगो बैंकिङ’ अभियानले एक वर्ष पुरा गरिसकेको छ । विकट ग्रामीण क्षेत्रका न्यून वित्तीय पहुँच भएका व्यक्ति तथा समुदायमा उद्यमशीलता विकास गर्दै देशकै आर्थिक विकासमा दिगो बैंकिङमार्फत् बैंकले सकारात्मक प्रभाव पारिहेको छ ।

बैंकले चालु आवमा एक हजार ५० जनालाई उद्यमशिलता तालिम र वित्तिय पहुँचमा जोड्ने योजना बनाएको थियो । पहिलो अनुभव र अन्य कठिनाईहरुका कारण त्यो लक्ष्य आधा मात्रै भेटिएको छ तर, उत्साहको पारो भने निकै माथि चढिसकेको छ । ग्रामीण क्षेत्रका १७ वटा शाखा कार्यालयबाट सुरू गरिएको नबिल दिगो बैंकिङमा अहिले ३३ वटा शाखा जोडिएका छन् । ५२ करोड रुपैयाँ कर्जा मार्फत ५ सय जना ग्रामीण उद्यमी संलग्न छन ।

ग्रामीण भेगका नागरिकलाई न्युन लागतमै उद्यमी बनाउने र कृषि तथा पशुपालनमा जोडेर आत्मनिर्भर बनाउने नबिल बैंकको दिगो बैंकिङ कमाण्ड सम्हालेका दिगो बैंकिङ विभाग प्रमुख लिलाप्रसाद ओझासँग सिंहदरबारले गरेको विस्तृत कुराकानी ।

नबिल बैंकले अघि सारेको दिगो बैंकिङ के हो ? र, यसका उद्देश्य के के हुन् ?

नबिल बैंकले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई आत्मासाथ गर्दै देशका दुर्गम क्षेत्रका जनतालाई उद्यमशील बनाएर वित्तीय पहुँचमा सहयोग गर्ने उदेश्य सहित एक वर्ष अघि यो कार्यक्रम सुरू गरेको थियो । कार्यक्रमले भौगोलिक, वातावरणीय, जनसांख्यिकीय तथा सामाजिक पक्षको आवश्यकता मुल्यांकन गरी सुशासन सहितको दिगो आर्थिक विकासमा जोड दिइरहेको छ ।

बैंक भनेको निक्षेप संकलन र कर्जा प्रवाह गरी त्यसबाट फाइदा कमाउने संस्था मात्र हो भन्ने आम बुझाइलाई नबिल दिगो बैंकिङले बैंकहरु देशमा दिगो आर्थिक विकासमा पनि काम गर्छन भन्ने सन्देश दिन खोजिरहेको छ ।

यसमा मुख्यगरी ३ वटा पक्ष छन् ।

पहिलो युवालाई उद्यमशीलता विकाससँग जोड्ने, उद्यमशीलता विकास सम्बन्धि क्रियाकलापहरुबाट उद्यमी बन्न चाहनेलाई कर्जा दिने, तेस्रो भनेको त्यो कर्जाबाट ऋणीको जीवनमा सकारात्मक प्रभाव परोस् भन्ने अवधारणा दिगो बैंकिङले लिएको छ । सँगसँगै वातावरणीय क्षेत्रको संरक्षणमा पनि भूमिका खेल्ने भन्ने पनि छ ।

मुख्यगरी यस योजनाले वित्तीय पहुँच न्यून भएका क्षेत्र र वर्गमा उद्यमशीलता मुलक तालिम दिँदै व्यवसायीक कृषिमा प्रेरित गर्छ । जसका लागि बैंक स्वंयले वित्तीय तथा प्राविधिक शिक्षा दिनुका साथै विभिन्न संघसस्था तथा स्थानिय निकायहरु सँगको सहकार्यमा स्वरोजगार मुलक तालिम दिन्छौं । यसमा स्थानिय सरकारले पनि सहयोग गरिरहेका छन् ।

दिगो बैंकिङको माध्यमबाट हामीले बैंकिङ नै नगरेका वा बैंकसम्म पहुँच नभएका व्यक्तिहरुलाई उद्यमशीलता विकास गरी बैंकिङमा जोड्ने प्रयास गरिरहेका छौं । विषेश गरी यसले न्यून आयस्तर भएका ग्रामीण क्षेका १८ वर्षदेखि ६० वर्ष उमेर समुहलाई उद्यमी बनाउन नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक प्रोडक्ट ल्याएको छ ।

दिगो बैंकिङको आईडीया कसरी आयो ?

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल सर, एसिया प्यासिफिकको ‘ग्लोबल एलाइन्स फर बैंकिङ एण्ड भ्यालु’ संस्थाको कोअर्डिनेटर हुनुन्छ ।

हाम्रा ग्रामीण क्षेत्रका १७ वटा शाखाको आर्थिक क्रियाकलापहरु सुस्त भइरहेको थियो । ती शाखाहरुबाट कसरी उपलब्धी मुलक कामहरु गर्न सकिन्छ भन्ने उच्च व्यवस्थापन देखिको सोचले दिगो बैंकिङ सुरू गरेका हौं ।

दिगो बैंकिङले बैंकको लगानी व्यक्ति, समुदाय, वातावरण र राष्ट्रिय अर्थतन्त्रसँगै समग्र देशकै जनजीवनमा सकारात्मक प्रभाव पार्ने हुनपर्छ भन्ने स्पष्ट मान्यता राख्दछ ।

दिगो बैंकिङको माध्यमबाट नबिल बैंकले तल्लो स्तरबाटै उद्यमशीलता विकास गरेर रोजगारी सिर्जना गर्ने काम गर्न खोजेको हो । ग्रामीण र अर्ध शहरी क्षेत्रमा नै यस्ता कार्यक्रमहरुको आवश्यक देखेरै हामीले ती क्षेत्र रोजेका छौं । पहिलो चरणको १७ वटा र दोस्रो चरणका ३३ वटा शाखाले यस्तै क्षेत्र समेटेको छ । भने तेस्रो चरणमा पुग्ने शाखाहरु पनि न्यून वित्तीय पहुँच पुगेका ग्रामीण र अर्ध सहरी क्षेत्र नै हुनेछन् ।

यो अभियानले बैंकको ‘ब्राण्ड इमेज’मा कस्तो प्रभाव पारेको देखियो ?

नबिल बैंक आफैमा एउटा ठूलो ब्राण्ड हो र दिगो बैंकिङ योजनाले नबिल बैंकको ‘ब्राण्डिङ’ लाई दुर्गम तथा ग्रामीण भेगका जनस्तरसम्म पुर्‍याउन सहयोग गरेको छ । यतिमात्र नभएर नबिल बैंकले ठुला कर्पोरेट हाउस वा जागिरेहरुलाई मात्र कर्जा दिन्छ भन्ने आम सोचाइलाई पनि परिवर्तन गर्दै लगेको छ ।

यही दिगो बैंकिङको माध्यमबाट जीवनमा कहिल्यै बैंक नै नटेकेका व्यक्ति समुदायबीच हाम्रो बैंक पुगेको छ । त्यस्तो समुदायमा वित्तीय जागरुक्ता जगाउँदै दीर्घकालीन उद्यमशीलतासँग जोड्ने प्रयत्न गरिरहेको छ ।

दिगो बैंकिङका लागि छुट्टै शाखा छन् वा पुरानैबाट काम भैरहेका छन् ?

हामीले दिगो बैंकिङका लागि शाखा छुट्याएका छौं । तर, त्यहाँबाट दिगो बैंकिङ मात्रै हुँदैन । एउटै शाखाले कोर बैंकिङको काम पनि गरिरहेको हुन्छ र त्यहिँबाट दिगो बैंकिङको काम पनि भैरहन्छ ।

एउटै शाखामा रेगुलर बैंकिङको काम र दिगो बैंकिङको काम एकै पटक चलिरहेका हुन्छन् ।

दिगो बैंकिङको यात्राका सहयोगी संस्थाहरु को को छन् ? कसरी समन्वय र सहकार्य भैरहेको छ ?

हामीले दिगो बैंकिङलाई ग्रामीण अर्थतन्त्रमा प्राण भर्ने वायुका रुपमा अघि सारेका हौं । ग्रामीण क्षेत्रमा काम गर्न सबै सरोकारवाला निकायहरुसँग समन्वय भैरहेको छ । स्थानीय सरकारहरु यसका प्रमुख साझेदार हुन् । त्यस बाहेक शिप शिकाउने सिटीईभीटी जस्ता निकायसँग पनि हामीले समन्वय गरिरहेका छौं । ग्रामीण क्षेत्रमा किसानहरुका लागि काम गर्दै आईरहेको हेफर नेपाल नामक संस्थासँग पनि सहकार्य गरिरहेका छौं ।

त्यस बाहेक युवाहरुका लागि काम गर्ने राष्ट्रिय युवा परिषदसँग पनि समन्वयमा काम जारी छ । हामी सहकार्यका लागि अन्य संघ संस्थाहरुको पनि खोजी गरिरहेका छौं । उहाँहरुले शिप विकास गरिदिनु भयो भने हामी ऋण प्रदान गर्नेछौं ।

बैंकले कर्जा प्रवाहलाई भन्दा उद्यमशीलताको लागि क्षमता विकास गर्न तालिम दिन्छ र आवश्यक पर्नेलाई कर्जा लिन सहजिकरण गर्छ । सीप सहितको लगानीको प्रतिफल नै दिगो बैंकिङको लक्ष्य प्राप्ति हो ।

बैंकले सम्बन्धित संस्था र स्थानीय सरकारसँगको समन्वयमा १ दिनेदेखि ८ दिनेसम्मका तालिम कार्यक्रमहरु संचालन गरिरहेको छ । यस्ता कार्यक्रमहरुमा उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि तालिम हुन्छ । यो आर्थिक वर्षमा दिगो बैंकिङ अन्तरर्गत बैंकले लगभग २५०० जनालाई यस्ता तालिम उपलब्ध गराएको छ ।

किसान कर्जा र उद्यमशीलता कर्जाको विशेषता के हो ? अन्यभन्दा के फरक छ ?

यी कर्जालाई हामीले अन्यभन्दा धेरै सहज र सरल बनाएका छौं । कर्जा लिएपछि उद्यमी तथा किसानले नगद प्रवाहको आधारमा तिर्ने ‘मोडालिटी’ बनाएका छौं ।

कुन व्यवसायको लागि कर्जा लिने हो ? त्यसको निक्र्योल गरी उत्पादन पछिको नगद प्रवाहमा आधारित रही रि–पेमेन्ट गर्न सकिने सिस्टम बनाएका छौं । कृषि कर्जा लिनेहरुका लागि ‘ग्रस पिरियड’ छुट्याएका छौं ।

यदी कुनै किसानले कुखुरा पालन गर्न कर्जा लिन्छ भने त्यो किसानलाई खोर बनाउनदेखि कुखुरा हुर्किएर बजारमा बिक्री गरी आम्दानी हातमा नपर्दासम्म किस्ता सुरू नहुने तरिकाले रि–पेमेन्टको सिस्टम बनाउँछौं ।

कर्जा लगानीको प्रतिफल हातमा परेपछि मात्र एकमुष्ट भुक्तानी गर्न मिल्ने वा किसानको सहजता अनुसारको रिपेमेन्ट मोडालिटी बनाउने गरेका छौं । यसले गर्दा कर्जा लगानी गरेर आम्दानी हातमा नपर्दासम्म रिपेमेन्ट नगर्दा पनि समस्या हुँदैन ।

दिगो बैंकिङमा कर्जाको सिमा के छ ? रिपेमेन्ट लगायतका सुविधा के के छन् ?

दिगो बैंकिङ अन्तर्गत रहेर किसान कर्जा २५ लाख सम्म र उद्यमशीलता कर्जा १ करोड रुपैयाँसम्म कर्जा लिन सकिन्छ । विषेश गरी यसमा हामीले सरकारको सहुलियतपुर्ण कर्जालाई नै प्राथमिकतामा राखेका छौं । १० लाखभन्दा सानो कर्जा परियोजना धितो अर्थात बिना घरजग्गा धितामा प्रवाह हुन्छ ।

सोभन्दा माथिको कर्जा घरजग्गा धितोमा प्रवाह गरिरहेका छौं । तर, दिगो बैंकिङमा २० लाख रुपैयाँसम्मको कर्जा दिँदा बाटोले नछोएको जग्गा पनि धितोमा राखेर कर्जा दिन्छौं ।

किसान कर्जाको माध्यमबाट हामीले अन्नबालीको सिजनमा उत्पादनको आवश्यकतामा पनि बैंकले कर्जा दिन्छन् भन्ने सन्देश दिन खोजेका हौं । बैंकहरुबाट अन्नबाली उत्पादनको लागि धेरै कर्जा गएको देखिन्दैन ।

यसको मतलब हामीले आलु खेती गर्न किसानलाई ५ लाख रुपैयाँ कर्जा दियौं भने किसानले ३/४ महिना पछि आलु उत्पादन गरेर बजारमा बिक्री गरी आम्दानी हात परेपछि मात्र एकमुष्ट तिर्न सक्नु हुन्छ ।

स्वीकृत कर्जाको भुक्तानी पनि बैंकले किसान कै सहुलियत अनुसार गर्छ । आवश्यकता अनुसार किसानले बिउ खरिद गर्न, गोडमेल गर्न, औषधी उपचार गर्न किस्ता किस्तामा बैंकबाट कर्जा लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

उद्यमशील कर्जामा भने १ करोड रुपैयाँसम्मको सीमा राखिएको छ । यो कर्जामा भने हामीले ग्रीन इकोनोमिलाई सकारात्मक प्रभाव पार्ने व्यवसायलाई १ करोड रुपैयाँसम्म कर्जा दिइरहेका छौं ।

यदी कसैले फोहोरबाट विजुली उत्पादन गर्ने काम गर्छ भने उसको लगानी ठूलो हुन्छ । उसलाई १ करोड रुपैयाँसम्म कर्जा उद्यमशीलता कर्जाबाटै दिन्छौं ।

कर्जासँगै हामीले बीमालाई पनि जोडेका छौं । किसानहरुलाई भोलीका दिनमा समस्या आयो भने बीमाले जोखिम वहन गरोस् भनेर बीमा सहितको कर्जामात्र हामीले दिने गरेका छौं ।

कृषि बीमामा नेपाल सरकारले प्रिमियममा ८० प्रतिशतसम्म अनुदान दिएको हुँदा हामीले बीमा कम्पनीहरु र किसानबीच मध्यस्थकर्ता भुमिका मात्र राखेका छौं ।

ब्याजदरमा ग्रामीण बस्तीका नागरिकले के सुविधा पाउँछन् ?

सहुलियत कर्जाको ब्याज सरकारले तोकेकै ब्याजदरमा हुन्छ भने किसान कर्जा र उद्यमशीलता कर्जाको ब्याजदर बेसरेटमा २ प्रतिशतमात्रै प्रिमियम थप गरी निर्धारण हुन्छ । तर, २० लाख रुपैयाँभन्दा माथिको कर्जाको ब्याजदर भने साधारण कर्जामा निर्धारण हुने दर नै निर्धारण हुन्छ ।

नबिल बैंकको १ दिने वा १० दिने तालिमले उद्यमी बन्न पर्याप्त हुन्छ ?

यो हाम्रो लागि पनि सिकाईकै विषय हो । हामीले दिने तालिम पर्याप्त अवश्य छैन । तर, दिगो बैंकिङले दिने तालिममा दुधे बच्चा काखी च्यापेर आउने आमादेखि ७०/७५ वर्षका वृद्धहरुसम्म हुन्छन् ।

उनीहरुलाई यस्ता तालिमले उद्यमी बनाउन पर्याप्त नभएपनि उद्यमशीलतातर्फ जागरुक्ता विकासमा भने सहयोग गर्छ । उद्यमी तथा स्वरोजगार हुनु पर्छ भन्ने धारणाको विकास हुन्छ ।

हाम्रो १ दिने तालिमले सुतेर बसेका व्यक्तिलाई उद्यमी बन्न क्षमतावान त अवश्य बनाउँदैन तर, हामी उद्यमी बन्न खोज्यौं भने नबिल बैंकले कर्जा दिने रहेछ भन्ने जागरुकता भने दिलाउँछ ।

बिना धितो वा परियोजना धितो कर्जा ‘डिफल्ट’को जोखिम कतिको छ ?

दिगो बैंकिङ सुरू भएको एक वर्ष पुरा भइसकेको छ । एक वर्षम हामीले ५ सय उद्यमीलाई ५२ करोड रुपैयाँ कर्जा दिएका छौं । जसमध्ये ६० प्रतिशत बिना घरजग्गा धितो वा परियोजना धितोका कर्जा हुन् । अहिले सम्म प्रवाहित कर्जाको भुक्तानिमा कुनै समस्या देखिएको छैन ।

बैंकबाट एक ठाँउमा देखाएर लिएको कर्जा अर्को ठाँउमा प्रयोग गर्ने प्रवृतिले रिपेमेन्टमा समस्या हुन्छ । कृषि कर्जामा बाख्रा पालन वा गाई पालन गर्न भनेर २५ लाख रुपैयाँ कर्जा लिएर १० लाखको बाख्रा थप्ने बाँकी पैसा अन्य ठाँउमा प्रयोग गर्ने धेरै ऋणीहरु छन । एक ठाँउमा लगानी गर्छु भनेर लिएको कर्जा २०/३० प्रतिशतमात्र त्यो ठाँउमा लगानी गर्यो बाँकी आफ्नो आवश्यकता टार्ने उपयोग्य सामान खरिद गर्ने जस्ता काम गर्ने प्रवृत्ति बढ्दो छ । तर, दिगो बैंकिङमार्फत् गएका कर्जाहरुमा त्यो समस्या छैन ।

हामीले दिएको कर्जाको सदुपयोग के कति भइरहेको छ ? त्यसको अनुगमन समेत गर्ने गरेका छौं । उद्यमशीलता सम्बन्धि कार्यक्रममै कर्जा सदुपयोग बारे चेतना जागृत गराएका हुन्छौं । यसले गर्दा पनि कर्जाको दुरुपयोग र रिपेमेन्टको समस्या अहिलेसम्म भएको छैन । लक्षित वर्गमै दिगो बैंकिङमार्फत् कर्जा पुगेको छ ।

कतिपय स्थानीय सरकार वा जनप्रतिनिधिहरुले त हामीले दिने कर्जा दिने ऋणीको जमानी समेत बस्नु भएको छ । भने आफ्नो ग्यारेन्टीमै कर्जा दिन समेत केही स्थानीय सरकारले सम्झौता समेत गरेका छन् ।

हामी पुगेका गाउँपालीका वा नगरपालीकाका अध्यक्षहरुलाई पनि नबिल बैंकले दिएको कर्जा २ जनाले तिरेनन् भने आगामी दिनमा २० जनाले यस्तो कर्जा पाउँदैनन् भन्ने रहेछ । त्यसैले उहाँहरुले साच्चै उद्यमी बन्ने व्यक्तिहहरुलाई नै उद्यमशीलता सम्बन्धि तालिममा बोलाउनु हुन्छ भने सोही अनुसार नै कर्जा दिन हामीलाई सिफारिस गर्नु हुन्छ ।

दिगो बैंकिङको काम लघुवित्तले पनि गरिरहेको छ । लुघवित्तहरुको व्यवसाय खोसेको भन्ने आरोप पनि रहेछ नि ?

लघुवित्त संस्था र दिगो विकासको काम धेरै फरक छ । हामी उद्यमी बन्नेलाई मात्र कर्जा दिन्छौं । तर, माइक्रोफाइनान्सको फोकस उद्यमशीलतामा मात्र छैन् । उनीहरुले कञ्जुमर लोनहरु पनि दिइरहेका हुन्छन् । दिगो बैंकिङले कर्जा प्रवाहमात्र नभएर लगानीको प्रभाव र उपलब्धि पनि खोज्छ ।

माइक्रोफाइनान्सले कर्जा दिएको पहिलो महिनादेखि नै रिपेमेन्ट खोज्छन् भने दिगो बैंकिङमा उद्यमीको नगद प्रवाह मुल्यांकनमा रिपेमेन्टको सिस्टम बनाएको हुन्छ ।

साथै, हामीले पहिलो प्राथमिकतामा उद्यमशीलतालाई नै राखेका छौ । हामीले दिने उद्यमशीलता विकास तालिममा सहभागीबाटै दिगो बैंकिङका कर्जा दिन्छौं ।

आजको नेपालको आवश्यकता भनेको रोजगारी सिर्जना, उत्पादकत्व वृद्धिका लागि माइक्रो स्तरमा बैंकहरु नपुगि हुँदैन भनेर राष्ट्र बैंकले पनि सोचेको छ र सरकारले पनि सोचेको छ । त्यही कुरालाई नबिल बैंकले समयमै आत्मासाथ गरी काम गर्न खोजेको हो । अब, वाणिज्य बैंकहरुले यो काम माइक्रोफाइनान्सहरुको मात्र हो भनेर बस्न मिल्दैन ।

स्थानीय सरकारको सहयोग चाँही कस्तो छ ?

हामी पुगेका क्षेत्रका स्थानीय सरकार पनि उद्यमशीलता विकासमा उत्तिकै चिन्तित देखिनु हुन्छ । उहाँहरुको चिन्तनले दियो बैंकिङलाई आफ्ना कार्यक्रम सञ्चालन गर्न ठूलो सहयोग गरेको छ ।

उहाँहरुले हाम्रा कार्यक्रमहरुलाई धेरै महत्वका रुपमा लिनु भएकै कारणले गर्दा नबिल बैंकले तल्लो स्तरमै गएर स–सानो कर्जा दिन सकिरहेका छौं । हिजोको दिनमा कर्पोरेट सेक्टरमा मात्र कर्जा प्रवाह गरिरहेको नबलि बैंकले आज ग्रामीण क्षेत्रका तल्लो स्तरमै आएर कर्जा दिँदा स्थानीय सरकारपनि धेरै खुसी छन् ।

दिगो बैंकिङले उद्यमशीलताका कार्यक्रमहरु गर्नुअघि त्यहाँका स्थानीय सरकार सबैसँग अन्तरक्रिया कार्यक्रम गर्छौं । हामीले अधिकांश उद्यमशीलताका कार्यक्रमहरु गाँउपालीका वा नगरपालीकाको सभा हलमा गरेका छौं । यसले हाम्रो खर्चमा कटौती हुनुका साथै, नबिल बैंकको योजनामा स्थानीय सरकारको पनि सहकार्य छ भन्ने सन्देशले स्थानीय बासिन्दामा गएको छ ।

स्थानीय सरकारसँग नबिल बैंकको उद्यमशीलता विकासका उदेश्य मिल्ने हुँदा यो पाटोमा हामीले सहकार्य गरेका छौं । स्थानीय सरकार भोलीका दिनमा यस्ता उद्यमशीलताका कार्यक्रम गर्ने भएमा हामीले अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गराउने काम गछौं, भने स्थानीय सरकारले दिएका तालिमबाट उद्यमी बन्न चाहनेलाई हामीले कर्जा दिन्छौं ।

केही गाँउपालीकाले त बैंकिङ पहुँच सहज र सरल होस् भनेर आफ्नो कार्यालयमै बैंक शाखा समेत खोलेका छन् । जहाँ बैंकिङ सेवा सम्बन्धि परार्मश दिइन्छ र कर्जामा पहुँचको लागि सहयोग तथा समन्वय गरिन्छ ।

दिगो बैंकिङका कार्यक्रमहरुमा सहभागि भएका स्थानीय तहका प्रमुखहरुले उद्यमशीलता विकास गरेर रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेछ भन्ने महशुस गर्नु भएको छ । भने कतिपयले भाविष्यमा उद्यमशीलताका कार्यक्रममा नबिल बैंकसँग समन्वय गर्ने सम्झौता समेत गर्नु भएको छ ।

एक वर्षभित्रका उपलब्धि र आगामी योजना के छन् ?

एक वर्षको अवधिमा नबिल दिगो बैंकिङले ५ सय बढीलाई उद्यमी बनाएको छ भने, यी उद्यमीले यही योजनामा रहेर ५२ करोड रुपैयाँ कर्जा लिएका छन् ।

दिगो बैंकिङमा हामीले कर्जा प्रवाहलाई भन्दा उद्यमशीलता विकास र त्यसको प्रवर्द्धनलाई नै जोड दिएका छौं । एक वर्षको उपलब्धीको मुल्यांकन गरेर आगामी योजना बनाएका छौं ।

यो एक वर्ष हामीले बेसमात्र बनाएका छौं, आगामी वर्ष दियो बैंकिङमार्फत् नै घटिमा १ हजार उद्यमी र ५० वटा शाखामा पुग्छौं । यो पनि हामी अलि दुर्गम र पिछिडिएका शाखा कार्यालयहरुबाटै जान्छौं । आगामी आर्थिक वर्षमा थप एक अर्ब रुपैयाँ कर्जा दिगो बैंकिङमा प्रवाह गर्ने योजना बनाएका छौं ।

प्रतिक्रिया दिनुहोस्