Shikhar Insurance

दुग्ध उत्पादक व्यावसायिक कृषकलाई अनुदान

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १३:१५
NIMB
Nabil Bank

कास्की । जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्षमा ९ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम ४४ लाख ४६ हजार रुपैयाँ अनुदान वितरण गरेको हो । केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दुई रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ भन्ने कृषकको माग हो । त्यसैले हामीले जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ ।”

कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन् ।

यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपक्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ । कृषि तथा पशुपक्षी बीमा सङ्घीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष ८ सय ६५ कृषकले आफ्ना पशुपक्षीको बीमा गराएका छन् ।

गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी तीन लाख १८ हजार ६२ पशुपक्षी बीमामा १ करोड १० लाख ८९ हजार रुपैयाँ भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपक्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस वर्ष केन्द्रको बजेट ९ करोड ६५ लाख ७९ रुपैयाँ रहेकामा पूँजीगत खर्चतर्फका कार्यक्रमका लागि ३ करोड ६६ लाख ९८ हजार रुपैयाँ छ । यसैगरी चालू खर्चतर्फ ५ करोड ९८ लाख ८९ हजार रुपैयाँ रहेको बताइन्छ

GBIME

प्रतिक्रिया दिनुहोस्