Shikhar Insurance

ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक, ३३७ योजनामा बजेटको आकार परिवर्तन

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १३:०८
NIMB
Nabil Bank

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गरेको चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै ३ सय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।

सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये २ सय ३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र १०७ वटा योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको १४ करोड रुपैयाँ हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

“विनियोजन विधेयकमार्फत १९ करोड ५३ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको छ ।” उपप्रमुख बोगटीले भने,“बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।” विदुरले चालु आर्थिक वर्षमा अनुमानित १ अर्ब २४ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

नगरसभा सदस्यले बजेटको आकार परिवर्तन भएसँगै ऋणमा रहेको नगरलाई यसै वर्ष ऋणमुक्त हुने वातावरण सुनिश्चत गर्न, पुँजीगत बजेटको खर्च सुरु नभएकाले अब तीव्रगतिमा योजना कार्यान्वयन गर्न र स–साना योजनालाई मध्यनजर गर्दै नगरकातर्फबाट गौरवको योजना सञ्चालन गर्न सुझाव दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्