Shikhar Insurance

यसकारण ढिलो भयो हिउँदे वर्षा, ४ महिनापछिको वर्षाले खडेरी बेहोरिरहेका किसानलाई राहत

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १५, सोमबार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताए । उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

“हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट्याँङ र असिनारहितको वर्षा भएको छ”, मौसमविद् कँडेलले भनिन् । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताइन्।

यो वर्ष पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको मौसमविद् कँडेलले उल्लेख गरे ।
“पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।”

विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२.९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६०.१ मिलिमिटर वर्षा हुन्छ । आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसम विद्को भनाइ छ ।

पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गङ्गा नगरकोटी बताउँछन् । वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख  गरे ।

सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन । नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो । वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ ।

मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्तमात्रामा हुन सकेन । राजधानी काठमाडौँ उपत्यकामा त झन यो वर्ष हिउँदे वर्षा भएन । उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।

हिउँदे वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन् । लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरुको विश्लेषण छ । गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन् । यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ ।

युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्लाक सी’ को बाटो हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन् । पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्