Shikhar Insurance

दीगो पर्यटन विकासले मात्र व्यवसायीलाई राहत मिल्ने

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार ११:२०
NIMB
Nabil Bank
लेखनाथ । पर्यटकीय ‘हब’का रूपमा परिचित पोखरामा विदेशी पर्यटकको संख्या वृद्धि गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न यहाँका पर्यटन व्यवसायीले माग गरेका छन् ।
सञ्चालनमा आएको पाँच महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको पर्यटन सम्बद्ध संस्थाद्वारा पोखरामा आयोजित अन्तरक्रियामा बताइएको छ । नेपालको तीनै तहको सरकारद्वारा भारत र चीन सरकारसँग समन्वय गरी त्यहाँका विभिन्न सहरबाट अन्तर्राष्ट्रिय उडानबाट पोखरा भ्रमणका लागि आउने वातावरण बनाउनु पर्नेमा व्यवसायीको जोड छ ।
पर्यटन परिषद् पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशमा दीगो पर्यटन विकासका लागि सरकार र पर्यटन व्यवसायी सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। विभिन्न एयरलाइन्सहरूसँग छलफल र समन्वय गरी पोखरामा अन्तर्राष्ट्रिय उडानलाई सञ्चालनमा ल्याउन आवश्यक भएको उनले औँल्याए। भारत र चीनबाट प्रतिदिन एउटा उडान पोखरामा भर्न सकियो भने पनि पोखराका पर्यटन व्यवसायीले राहत पाउने उनको भनाइ छ ।
ट्रेकिङ एशोसियशन अफ नेपाल गण्डकीका अध्यक्ष धर्म पन्थीले दिगो पर्यटन विकासका लागि नेपाल सरकार र पर्यटन व्यवसायीको सहकार्यमा यहाँका  प्राकृतिक संरचना संरक्षण, विभिन्न जातजातिको संस्कृतिको संरक्षणका साथै स्वच्छ वातावरण कायम गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी टीकाराम सापकोटाले पोखरामा दीगो पर्यटन विकासका लागि पोखराका ताल, गुफा, मठमन्दिर र यहाँको ऐतिहासिक कलात्मकरूपमा बनेका गाउँका घर तथा संस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिए। साथै उनले विदेशी पर्यटकलाई पर्यटन व्यवसायीले गर्नुपर्ने व्यवहार पनि नम्र हुनुपर्ने भनाइ राखे।
पर्यटन बोर्डका पूर्वसदस्य तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले यतिबेला पोखरामा भारतीय पर्यटकको संख्या बढेको जानकारी दिँदै भारतीयले ल्याएको पाँच सयका नोट नसाटिएकै कारण उनीहरू भारतीय पाँच सय नोट पाँच सय नेपाली रूपैयाँमा साट्न बाध्य भएको बताए। “यसबाट भारतीय पर्यटकले ठगिएको महसुस गरेका छन्”, उनले भने।
पर्यटन व्यवसायी पुष्पराज अधिकारीले तारे होटलका लागि गाउँमा खुलेका होमस्टे घातक बनिरहेको बताए। होमस्टेले सस्तोमा विदेशी पाउना राखिदिँदा पोखराका तारे होटल धरापमा परेको उनको भनाइ छ ।
पर्यटन व्यवसायी जमुना पराजुलीले पोखराको दीगो पर्यटन विकासमा पर्यटन व्यवसायमा महिलालाई आकर्षण गर्नुपर्नेमा जोड दिए। स्वदेशी तथा विदेशी पर्यटको सङ्ख्या वृद्धि गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटकप्रति गर्ने व्यवहार नरम, अनुशासित र सहयोगी भावनाको हुनुपर्नेमा उनको जोड छ ।
पोखरा तालैतालको सहर भएको र यहाँबाट अन्नपूर्ण तथा धौलागिरि हिमशृङ्खलाको सहजै दृश्यावलोकन गर्न सकिने भएकाले गण्डकी प्रदेशमा दीगो पर्यटन विकास गर्न सजिलो भएको पर्यटन व्यवसायी उमा भण्डारीको भनाइ छ ।
पर्यटन व्यवसायी वासुदेव त्रिपाठीले दीगो पर्यटन विकासका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पोखराका आकर्षणका रूपमा रहेका नौ वटा ताल, गुफाहरू, प्रसिद्ध मन्दिर, विभिन्न जातिको संस्कृति, वेशभूषा, लोक संस्कृति र वातावरण जोगाउन आवश्यक भएको जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई कुरूप बनाउने छुट कसैलाई नभएको बताए। पोखराको कृषियोग्य भूमि कङ्क्रिड जङ्गलको रूपमा विकास हुँदा आफू चिन्तित बनेको उनको भनाइ थियो ।
पोखराको दीगो पर्यटन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागबाट पर्यटकीय क्षेत्र लेकसाइड आउनका लागि ५ अर्बको लागतमा फराकिलो सडक निर्माण कार्य सुरु गरिएको र लेखनाथको तालचोकबाट बेगनास तालसम्म पुग्ने सडक एक अर्बमा ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्