Shikhar Insurance

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताए ।

उनका अनुसार बहिरङ्ग सेवा ५० र इमर्जेन्सी सेवाबापतको शुल्क १ सय कायम गर्ने निर्णय गरिएको छ । बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उनले बताए । यसअघि बहिरङ्ग सेवा शुल्क १ सय र इमर्जेन्सी सेवा शुल्क ४ सय रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी कँडेलले नियमितरुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताए ।

५ जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक ३ हजार ५ सयको योगदान रकम तिरेपछि १ लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र ती मध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार ५ सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ । यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई/दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
रासस

GBIME

प्रतिक्रिया दिनुहोस्