Shikhar Insurance

बन्दीपुर केबलकार आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने, २५ करोडको आइपिओ ल्याउदैँ

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १०:३७
NIMB
Nabil Bank

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।

हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए । उनले भने, “यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।” आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, “केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।”

Citizen Life
Kumar Bank
Nepal Life

बन्दीपुर–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

केबलकारको साधारण शेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य एक सय रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।  तीन अर्ब ४९ करोड रुपैयाँ कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशतअर्थात् चार करोड ३० लाख रुपैयाँ परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ । चुक्ता पुँजीको दश प्रतिशत २१ करोड ५० लाख रुपैयाँ सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्