Shikhar Insurance

खोले साग बिक्रीबाट महिनामा १ लाख आम्दानी गर्दै महतो दम्पती

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार ११:३३
NIMB
Nabil Bank

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले सागखेती गरेर वार्षिक ३ लाखभन्दा बढी आम्दानी गरेका छन् । महतो दम्पतीले विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे (खोले) सागखेती गर्दै आएका हुन् ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताईन् । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताईन् । महतोले भनिन्,“चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन । चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै ३ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताईन् । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिईन् ।

लक्ष्मीले भनिन्,“यो सागलाई उपभोक्ताले अत्यधिक रूपमा मन पराएर दैनिक रूपमा माग बढ्दै गएको छ । पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताईन् ।

“यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उनले भनिन् । खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउँने भएकाले यसलाई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले जानकारी दिईन् । “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उनले भनिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्