Shikhar Insurance

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १२:५४
NIMB
Nabil Bank

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल निर्माण भएको हो ।

गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताएका छन् । बाँस्तोलाले भने,“तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ । ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।”इन्जिनियर बाँस्तोलाका अनुसार बेनी–जोमसोम सडकको ताङछराबाट सेकुङ हुँदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा २ करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए । खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो । ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले जानकारी दिए ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकुङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न गएका सुरेन गुरुङले बताए । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छोताल पुगिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्