Shikhar Insurance

आफ्नै स्रोतबाट सडक स्तरोन्नति गर्दै कृष्णपुर नगरपालिका

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार ११:२२
NIMB
Nabil Bank

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति कार्य अगाडि बढाएको हो ।

नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए । ओझाले भने,“वडा नं ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ । थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।” उनका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“पाँच किलोमिटर सडक स्तरोन्नति गर्दा प्राविधिकको अनुमानित लागतअनुसार १० लाखभन्दा बढी लाग्छ । नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्चमै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।”नगर प्रमुख ओझाले भने । यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उनले बताए ।

ठेक्का र उपभोक्ता समितिमार्फत हुने कार्यभन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनले नगरपालिकाका नौवटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्