Shikhar Insurance

तिप्ल्याङ खण्डका घरटहरा हटाउने प्रक्रिया सुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १७:००
NIMB
Nabil Bank

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । सडक योजनाले फागुन ११ गते सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरेको हो ।

तिप्ल्याङ क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा र गोठ हटाउन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले बताए । उनले भने,“प्रभावितले क्षतिपूर्तिको दररेटमा असहमति जनाएपछि संरचना हटाउन सकिएको थिएन । संरचना नहट्दा सडक विस्तार र नाली निर्माण रोकिएको थियो ।” उनले क्षतिपूर्तीको पुनः मूल्याङ्कन भएपछि स्थानीय रकम बुझ्न तयार भएकाले संरचना हटाउने प्रक्रिया सुरु गरिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

गलेश्वरदेखि तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माण पूरा भइ कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार र नाली निर्माण रोकिएको थियो । स्थानीयको मागअनुसार प्राविधिक टोलीले पुनः मूल्याङ्कन गरी क्षतिपूर्तिको रकम संशोधन गरेको थियो । सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन लागिएको सूचना अधिकारी चापागाइँले बताए । योजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब ८ आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया सुरु गरिएको थियो ।

सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण गर्ने कार्य अहिले पनि जारी छ । म्याग्दीमा ८० र मुस्ताङमा ९८ वटा घर, टहरा र गोठ हटाउने निर्णय गरिएको थियो । बेनी-जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।

पछिल्लो व्यवस्था अनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउँन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्