Shikhar Insurance

चैते धान खेतीमा जोड दिदैँ डोटीका किसान

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १४:२९
NIMB
Nabil Bank

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसानहरु चैते धान खेतीमा होमिएका छन् । एकै वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने भएपछि शिखरका किसानहरु चैते धान खेतीमा जोड दिन थालेका हुन् ।

डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । कार्की चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउँछन् । यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । कार्कीले भने,“गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ । यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउदा दोब्बर फाइदा हुन्छ ।” उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउन्छन् । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने कार्की बताउँछन् । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उनले बताए । यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् । गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीऊ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीऊ राखेका छन् ।

कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताए । ज्ञान केन्द्रकै सल्लाहअनुसार बीऊ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको बताए । उनले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्