Shikhar Insurance

सुदूरपश्चिमका ५ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिँदै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १४:१५
NIMB
Nabil Bank

कैलाली । सुदूरपश्चिमका पाँच पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीयस्थलमध्ये खप्तड, बडीमालिका, अपि हिमाल, गोदावरी धाम र शिवपुरी धाम गरी पाँच वटालाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार चालु आर्थक वर्ष २०८०/८१ मा पहिचान गरिएका ४७ पर्यटकीयस्थलमध्ये पाँच पर्यटकीयस्थललाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म चार दशमलव पाँच किमी पदमार्गलगायत अन्य संरचना निर्माणका लागि १ करोड रूपैयाँ बजेट विनियोजन गरिएकामा बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा गएको छ ।

यसैगरी बाजुराको बडीमालिकामा पदमार्गसहित मन्दिर परिसरमा रेलिङ निर्माणका लागि ६० लाख रुपैयाँ, दार्चुलाको अपिमा पर्यटकीय भवन निर्माणका लागि ४० लाख रुपैयाँ, कैलालीको गोदावरीधाममा रामजानकी मन्दिर निर्माणका लागि ३० लाख रुपैयाँ र शिवपुरीधाममा ट्रेस निर्माणका लागि  ३० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा जम्मा ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरिएको बजेट न्यून रहेको जनाइएको छ ।

यस प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धन गर्न पर्याप्त बजेट विनियोजन गरिनुपर्ने पर्यटन व्यवसायी थर्कबहादुर शाहको भनाइ रहेको छ । पहिचान गरिएका पर्यटकीयस्थलबारे आवश्यक जानकारी दिनका लागि पर्यटकीय सूचना केन्द्र स्थापना हुन सकेको छैन । सूचना केन्द्र अभावमा सुदूपश्चिम आउने पर्यटक अलमलमा परी फर्केर जाने गरेको शाहको भनाइ छ । कैलालीको त्रिनगर भन्सारमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । सो केन्द्रका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

यस्तै कञ्चनपुरको गड्डाचौकीमा स्थापना गरिएको पर्यटकीय सूचना केन्द्र निष्क्रिय रहेको र चिसापानीमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आउन नसकेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख बोहराले बताए । सुदूरपश्चिममा पर्यटकीय गन्तव्य प्रशस्त रहे पनि सडक यातायात, बाटो, बिजुली, खानेपानी, बस्ने व्यवस्थाको अभाव रहेको जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्