Shikhar Insurance

रैथाने आलुखेतीतर्फ किसानको आकर्षण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १३:५७
NIMB
Nabil Bank

कैलाली । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको अकर्षण बढ्न थालेको हो ।

माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले विकासेभन्दा स्थानीय जातको आलुको माग बढि भइरहेकाले यसलाई व्यावसायिक रूपमा गर्न थालिएको बताए । उनले यस वर्ष सात कठ्ठामा आलुखेती गरेको बताए । “मैले पहिले टिपीएस, कार्डिनललगायतका आलु पनि लगाउँथे । यस वर्ष थारुआलु मात्रै लगाएको छु । थारुआलुको माग पनि बढेको छ । खान पनि स्वादिलो हुन्छ, त्यसैले यसको उत्पादनमा जोड दिएको छु ।” चौधरीले भने । उन्नत जातका आलु हाल बजारमा प्रतिकिलो २५ देखि ३० मा बिक्री हुने भन्दै थारुआलु प्रतिकिलो ५० मा बिक्री हुने गरेको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस वर्ष २५ क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उनले भने, “यस वर्ष १५ क्विन्टल जति बिक्री गर्छु । अरु आफूलाई खान र बीउका लागि राख्छौँ । असारसम्म बिक्री गर्छौँ । त्यो बेला मूल्य अझ बढी हुन्छ । प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुन्छ ।” धनगढीमा रहेको हाटबजारमा सहजै बिक्री हुने भन्दै काठमाडौंबाट पनि माग आइरहेको बताए । चौधरीले भने,“आलु खनेर निकालेपछि यो सिजनमा फल्ने तरकारी लगाउँछु । तरकारी खेतीबाटै चार जनाको परिवारको खर्च, छोराछोरीको पढाइलेखाइ सबै चलाएको छु”। उनका अनुसार सबै खर्च कटाएर थारुआलु तथा अन्य तरकारीबाट वार्षिक ३ लाखसम्म बचत भइरहेको छ ।

खानमा स्वादिलो, कम बिग्रिने, भण्डारण गर्न सजिलो हुने भएकाले पछिल्लो समय किसानले रैथाने (थारु) आलु लगाउन थालेका स्थानीय पदीराम चौधरीले बताए । उनले आठ कठ्ठा आलुखेती गरेको बताउँदै करिब २५–२६ क्विन्टल उत्पादन भएको बताए । “अहिले बिक्री सुरु गरेका छौँ । १२ देखि १५ क्विन्टलसम्म यस वर्ष बिक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”उनले भने ।

थारु आलु घरमै लामो समय भण्डारण गरेर राख्दा नबिग्रिने उनले पदीरामले बताए । गोबरमलको प्रयोग हुने भएकाले स्वास्थ्यका लागि थारुआलु राम्रो हुने भन्दै बजारमा यसको माग बढ्न थालेको उनको भनाइ छ । सोही ठाउँका स्थानीय फूलीराम चौधरीले यस वर्ष तीन कठ्ठामा आलुखेती गरेको बताए । उनले भने,“यस वर्ष १० क्विन्टल जति उत्पादन भएको थियो । पाँच क्विन्टल आलु हाटबजारमा लगेर बिक्री गरिसकेँ, बाँकी आफ्नो परिवारका लागि तरकारी र बीउका लागि राखेका छौँ ।” बीउका लागि कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित शीतभण्डारमा लगेर राख्ने गरेको उनले बताए ।

सोही ठाउँका वीरेन्द्र चौधरीले पनि पाँच कठ्ठामा आलुखेती गर्दै आएको बताए । “पहिले विकासे जातको आलु पनि लगाउँथ्यौँ । अहिले थारुआलुलाई जोड दिएका छौँ । यस वर्ष १५ क्विन्टल उत्पादन भएको छ । पुर्खौँदेखि लगाउँदै आइएको रैथाने आलु लगाउन छोडिँदै गएको थियो । यसको मागसँगै मूल्य पनि बढी भएकाले फेरि किसानले लगाउन थालिएका छन् ।”उनले बताए । शान्तिटोलका करिब ५० किसानले थारुआलु खेती गर्दै आएका स्थानीयको भनाइ छ । थारुआलु संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गरिने धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागिराम चौधरीले बताए ।

“रोग कम लाग्ने, थोरै जग्गामा लगाउँदा उत्पादन धेरै हुने, खानमा स्वादिलो, लामो समयसम्म राख्दा नबिग्रिने थारुआलु संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ । उन्नत जातको आलुको तुलनामा यसले कम मेहनतमा बढी उत्पाद दिन्छ ।” चौधरी बताउँछन् । यसको प्रवर्द्धन, खेती विस्तार गर्न आवश्यक भएको स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ ।

आलु प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँका किसानलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको जिल्लास्थित केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार केन्द्रले चालु आवमा जिल्लाका विभिन्न ठाउँमा ४२ हेक्टर जग्गामा थारुआलु खेतीका लागि ७१ किसानलाई अनुदान, बीउबिजन, विषादि, स्प्रे, सिँचाइलगायतमा अनुदान दिएको छ । सो क्षेत्रबाट १० हजार क्विन्टल बढी थारुआलु उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्