Shikhar Insurance

पाँचथरको जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाउँन स्थानीयवासी सक्रिय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार ११:११
NIMB
Nabil Bank

पाँचथर । पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ । हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् ।

फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ । फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले ।

Citizen Life
Kumar Bank
Nepal Life

जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ । अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन ।

गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ । दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो ।

लामो समय शिक्षण पेसामा आबद्ध भई अहिले गाउँ बदल्न कस्सिएका गजेन्द्र राईबारे जेभालेकै होमबहादुर रिमाल भन्छन्,“गजेन्द्र सरले पढाउन छोडेपछि हाम्रो गाउँ फेरिएको छ । हिजो कोही मान्छे यहाँ आइपुग्दैन थिए । आज दैनिकजसो घुमघाम गर्ने मान्छे आउन थालेका छन् । बर्सेनि ठूलो मेला लागिरहेको छ ।”रिमालले भनेजस्तै जेभालेमा एक व्यवस्थित खेलमैदान निर्माण भइरहेको छ । गुप्तेश्वर महादेव स्थानदेखि वनभोज खान तयार पारिएको हुक्मा डाँडासम्म आकर्षक पदमार्ग निर्माण गरिएको छ । हुक्मा डाँडामा वनभोज खान आवश्यक सबै प्रबन्ध मिलाइएको छ ।

गुप्तेश्वर महादेव स्थानमा प्राकृतिकरुपमा भगवान् शिव र पार्वतीसँग सम्बन्धित दर्जनौँ आकृति रहेका छन् । धार्मिक दृष्टिले यसको विशेष महत्व रहेको यस क्षेत्रको विकासमा सक्रिय गजेन्द्र राईको भनाई छ । उनका अनुसार गुप्तेश्वर महादेव स्थानमा जेभाले नै पुख्र्यौली घर भई हाल अमेरिका बसोबास गर्ने नारद रिमालको परिवारले रु ३५ लाख लगानीमा पूर्वाधार निर्माण गरिदिएका छन् । अब गुप्तेश्वर महादेवको महिमा प्रचारप्रसारको आवश्यकता रहेको राईको भनाइ छ ।

जेभालेमा व्यवस्थित खेल मैदान निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यस वर्ष कोशी प्रदेश सरकारको २५ लाखको लागतमा खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको राईले बताए । राईले भने,“अहिले खेलमैदान मात्रै भएर पुग्छ भन्ने सोचबाट माथि उठेर खेल मैदानसँगै पक्की शौचालय र कार्यालयको व्यवस्था गर्न लागेका छौँ । शौचालय नहुँदा खेलाडी समस्या पर्ने गरेको देखेर यही काम अन्यत्र पनि होस् भनेर खेलमैदानसँगै खेलाडीका लागि शौचालय र कार्यालय बनाउन लागेका हौँ ।”

विसं २०७५ मा फिदिम नगरपालिकाबाट विनियोजित ७ लाखमा खेल मैदान विस्तार गरी खेल्न लायक बनाइएको थियो । उसो त उक्त खेल मैदान निर्माणको आफ्नै कथा रहेको राई बताउँछन् । शान्तिदीप युवा क्लब र नवआशिष युवा मञ्चले २०६५ सालमा देउसी खेलेर खेल मैदान निर्माणका लागि चार रोपनी जग्गा खरिद गरेका थिए । यहाँ रहेको सिंहसिद्ध आविका नाममा रहेको जग्गामा सोही वर्षबाट श्रमदानमार्फत खेलमैदान निर्माण थालिएको थियो ।

यस पटक भने खेल मैदानसँगै दुवैतर्फको पहाड काटेर दर्शकका लागिसमेत सुविधा हुने व्यवस्था स्थानीयवासीले गर्न लागेका छन् । खेल मैदानसँगै मेला महोत्सवमा स्टल तथा होटल स्थापना गर्ने ठाउँको व्यवस्था गरिएको छ । वनभोज खाने व्यवस्था मिलाइएको हुक्मा डाँडामा अन्यत्रजस्तो समस्या छैन । यहाँसम्म सडक पु¥याइएको छ भने वनभोज खान आउनेले खानेकुराबाहेक कुनै सामग्री नल्याए पनि वनभोज खान सक्ने प्रबन्ध स्थानीयवासीले मिलाएका छन् । ठाउँ–ठाउँमा डस्बिन राखेर कहीँकतै फोहर हुन नदिने अभियान चलाइएको छ । ८ लाखको लगानीमा गुप्तेश्वर महादेव स्थानबाट पदमार्ग निर्माण गरी हुक्मा डाँडासम्म पु¥याइएको छ ।

विगतमा बाघ भालु भुक्ने भएकाले राई वान्तवा भाषाबाट उक्त स्थानको नाम हुक्मा डाँडा भनिएको राई बताउँछन् । वनभोजस्थलमा शौचालय, खानेपानी र भाँडाकुँडाको व्यवस्था गरिएको छ भने जनश्रमदान र स्थानीयवासीको लगानीमा विद्युत्समेत जडान गरिएको छ । “पिकनिक खाँदा आवश्यक पर्ने चम्चादेखि मासु काट्ने सामग्रीसम्म हामीले प्रबन्ध गरिदिएका छौँ, त्यो पनि निःशुल्क । शौचालय र वनभोजका लागि आवश्यक सामग्री भण्डार गृहमा जस्तापाता लगाउन बाँकी छ ।”यहाँको विकास सक्रिय गजेन्द्र राईले भने ।

नगरपालिकाले डिजेल मात्रै उपलब्ध गराइदिँदा स्थानीयवासीले स्काभेटर प्रयोग गरी एक हजार २०० मिटर सडक निर्माण गरेर हुक्मा डाँडासम्म सडक पु¥याएका छन् । दृश्यावलोकनका लागि हुक्मा डाँडा सबैभन्दा उपयुक्त छ । “सफा मौसम हुँदा चारैतिर देख्न सकिन्छ । चाप र गुराँस पाइने, चराचुरुङ्गीको आवाजले गुञ्जिने ठाउँ हो यो”, राईले भने । पञ्चमी भञ्ज्याङबाट हुक्मा डाँडा जाने पदमार्गमा निकै आकर्षक चट्टानबाटिका (रक गार्डेन) रहेको छ । यहाँ फरक–फरक आकृतिका ढुङ्गा रहेका छन् भने ढुङ्गाको चेपमा गुफा रहेका छन् । यहाँ पेनगुइन, खरायोको कान जस्ता आकृतिका ढुङ्गा, ढुङ्गामै रुख अडेकोसमेत देख्न पाइन्छ । “यस स्थानको प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्छ । यसका लागि आकर्षक डिजाइन र बजेटको आवश्यकता छ”, राईले भने ।

प्रकृतिले सुन्दरता भरेको र स्थानीयवासी गजेन्द्र राईको अगुवाइमा सम्वद्र्धन थालिएको जेभालेमा पर्यटक आउन थालेपछि स्थानीयवासी दङ्ग छन् । स्थानीयवासी होमबहादुर रिमालले भने,“यहाँ मान्छेहरु घुम्न आएर बजार लाग्न थालेको छ । पहिले चिहानघारी र तर्साउनेजस्तो छ भनेर मान्छे आउन डराउँथे । गजेन्द्र सरले स्कुल छोडेर आएपछि यहाँ सबै कुराको मुहार फेरोको छ ।”

समाजका लागि अहोरात्र खटेका गजेन्द्र सिदिन माध्यमिक विद्यालय फालेलुङमा माध्यमिक तहको अङ्ग्रेजी शिक्षक थिए । तर समाजमा केही काम गर्न आग्रह गर्दा आफूलाई शिक्षकका रुपमा मात्रै लिने भएपछि ०७४ सालको स्थानीय तह निर्वाचनपूर्व उनले शिक्षण पेसाबाट राजीनामा दिए । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका राईले चुनाव जित्न त सकेनन् तर गाउँको विकासको अगुवाइ भने गरिरहेका छन् । “धेरै साथीभाइले हार्ने चुनावका लागि उम्मेदवार बन्न किन पेृसा छाडेको पनि भन्नुभयो । तर गाउँको विकास गर्ने मेरो सपनामा मेरो पेसा बाधक बनेको थियो”, उनले सम्झिदैँ बताए

भव्य मेला लगाएर केही रकम सङ्कलन गरी सामाजिक क्षेत्रमा खर्चने, सार्वजनिक शौचालयलाई नमूना बनाउने, सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेजस्ता अभियान चलाएका राईको अगुवाइमा यस स्थानमा ०५६ सालमै अनिवार्यरुपमा शौचालय निर्माण र प्रयोग गर्ने अभियान चलेको स्थानीयवासी बताउँछन् । सीमित बजेटलाई समुचित प्रयोग गरेर पर्यटक तान्न थालेको जेभाले विशेषत आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्