Shikhar Insurance

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने समस्या समाधानका लागि हेडवर्क्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र वर्षामा बन्द गर्नुपर्ने अवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा पानी वितरण गर्न हेडवर्क्स नै स्थानान्तरणको विकल्प नभएको बताए । उनले भने,“मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुवात भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ । यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ ? लागत कति लाग्छ ? भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ । अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।”

अन्सारीले अध्ययन प्रतिवेदनका आधारमा अनुमानित लागत निकाल्ने र आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि पहल गरिने बताए । “एसियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनमा पनि हेडवर्क्सलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । अझै हामी थप अध्ययन गरिरहेका छौँ । अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।”

उनले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताए । आयोजना स्थायी भएपछि वर्षायामसँगै मेलम्ची आयोजना बन्द गर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने उनको भनाइ छ । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पनि पन्तले विभिन्न अध्ययनबाट अब हेडवर्क्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताए ।

“अध्ययनमा पनि आयोजनाको हेडवर्क्स अहिलेको भन्दा माथि बनाउन उचित हुने देखाएको छ । यससम्बन्धी कार्ययोजना बनाएर काम गर्न अझै करिब दुई वर्ष लाग्ने देखिएको छ । अहिले ठूलो पानी परेपछि हेडवर्क्सको माथिल्लो भागबाट लेदो माटो बग्ने समस्या आउँछ । पहिरोको जोखिम पनि उत्तिकै भएकाले आयोजनालाई जोगाउन बर्खामा बन्द गर्नुपर्ने बाध्यता छ”उनले भने ।

गत साउन २८ र २९ गते आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको पानी नै बन्द गर्नुपरेको थियो । पन्तले भने,“हेडवर्क्स बनाउन दुई सय १० मिटरको सानो सुरुङ बनाएका थियौँ, दुई वर्ष अगाडिको घटनापछि त्यही सानो सुरुङ प्रयोग गरेर अस्थायी संरचनामार्फत पानी मुख्य सुरुङमा पठाउने गरिएको थियो । तर गत साउनको बाढीका कारण अस्थायी संचनामा फेरि समस्या आयो, अनि आयोजना स्थायी बनाउन हेडवर्क्स अन्यत्रै बनाउनुको विकल्प छैन ।”

उनले हेडवर्क्स स्थानान्तरण नगर्ने हो भने पटक-पटक आयोजनामा समस्या आउनसक्ने र उपभोक्ताहरु खानेपानीको पहुँचबाट टाढा रहनुपर्नेमा बताए । वर्षायाममा आयोजना बन्द नगर्दा अर्बौको लागतमा तयार आयोजनामा क्षति पुग्ने भन्दै अन्सारीले हाल हिउँदमा मात्रै आयोजना सञ्चालन गरिएको बताए । “हामीले वर्षायाममा पनि खानेपानी ल्याउने हो भने स्थायी संरचना बनाउनुको विकल्प छैन, यस विषयमा हामी छलफलमै छौँ”, उनले भने ।

उपत्यकामा बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको छ । आयोजनाले आगामी दिनमा दैनिक ३४ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ । भूगर्भविद्ले मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको बताउँदै आएका छन् ।

भूगर्भविद् डा सुवोध ढकालले आयोजना निर्माणअघि भू-गर्भको अध्ययन राम्रो नहुँदा आयोजनामा समस्या आइरहेको बताए । “आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन जरुरी छ, पहिरोको सम्भवना कतिको छ ? विगतमा के थियो ? भन्ने विषयमा ध्यान दिनुपर्छ । फेरि पनि लापारबाही भयो भने हेडवर्क्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।”उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्