Shikhar Insurance

तनहुँकाे पृथ्वी राजमार्ग विस्तारका कारण छेउका होटल सुनसान

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १३:३१
NIMB
Nabil Bank

तनहुँ । पृथ्वी राजमार्ग विस्तारसँगै धुलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ । धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका हुन् ।

पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको १ सय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम धमाधम भइरहेको छ । यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन् । उनीहरु डेड वर्षदेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सडक विस्तार अघि खाजा र खाना खान आउने यात्रुको चाप थेगी सक्नु हुन्थेन व्यास नगरपालिका–१ नयाँ पुलस्थित होटल सिंहका सञ्चालक भिमसिंह ठकुरीले भने ‘अहिले होटलमा यात्रु फाट्टफुट्ट आउने गरेका छन् । यात्रु खाना खान नआउँदा हुँदा होटल अन्यत्र सञ्चालन गर्नुपर्छकी भन्ने सोचमा पुगेको छु ।’ सडक विस्तार अघि दैनिक १० हजारभन्दा बढीको व्यापार हुने गरेको सिंहले बताए । हाल दैनिक रु एक हजारको व्यापार पनि हुँदैन उनले भने ।

यस्तै आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटस्थित पृथ्वी राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका दिवस अधिकारीको दैनिकीसमेत सिंहको भन्दा कम छैन । राजमार्ग विस्तार अघिको व्यापार पछिल्लो समय ह्वात्तै घटेके उनको भनाइ रहेको छ । ‘पहिला ग्राहकको चापले पकाउन र खुवाउन भ्याइनभ्याई हुन्थ्यो’ उनले भने। धुलोले आहत भएपछि ग्राहक नआउँदा होटल बन्द गर्ने अवस्था आएको अधिकारी बताए । उनले व्यापार घटेपछी कर्मचारीसमेत कटौती गरे । आँबुखैरेनी–१ एक्लेफाँटस्थित ओपनहार्ट रेष्टुरेण्टका सञ्चालक सुशिल बानियाँले राजमार्ग विस्तारको प्रभाव राजमार्ग छेउछाउका होटलमा प्रत्यक्ष रुपमा परेको बताए । राजमार्ग विस्तारबाट यहाँका होटलमा प्रत्यक्ष असर परेको छ उनले भने राजमार्ग विस्तारपछि पहिलाको जस्तै व्यापार बढ्ने आशमा बसेका छौँ ।

तनहुँको आँबुखैरेनी, एक्लेफाँट, याम्पा, नयाँ पुल, विमलनगर, डुम्रे, दमौली, थर्पु, जामुने, खैरेनीटार, बेलचौतारा, दुलेगौंडा, कोत्रेलगायत क्षेत्रमा राजमार्ग छेउछाउमा साना ठुला गरी करिब सात सय ५० होटल सञ्चालनमा छन् । क्षेत्रीय होटल सङ्घ तनहुँका अध्यक्ष राम जोशीका अनुसार सङ्घमा आवद्ध तनहुँका आठ सय होटलमध्ये भिमाद गाउँपालिका बाहेकको करिव पाँच सय ५० होटल राजमार्ग क्षेत्रमा पर्दछन् । त्यसैगरी सङ्घमा आवद्ध तनहुँका पाँच सय होटलमध्ये करिव दुई सय होटल राजमार्ग क्षेत्रमा पर्ने उनले बताए ।

बन्दिपुर–१ डुम्रेस्थित मुस्ताङ होटलका सञ्चालक समेत रहेका अध्यक्ष जोशीले राजमार्ग विस्तारको क्रममा धुलोले गर्दा आफ्नो होटलमा आउने ग्राहकको सङ्ख्या करिव ९० प्रतिशतले घटेको बताए । राजमार्ग क्षेत्रको होटलमा यात्रु नहुँदा अधिकांश होटल व्यवसायीले वित्तिय संस्थाको किस्तासमेत तिर्न नसकेकाले सङ्घले केन्द्रियस्तरबाटै व्याजको व्यवस्था गर्न पटक पटक आग्रह गर्दैआएको उनको भनाइ रहेको छ । धुलोको कारण यात्रुले मुग्लिन र पोखरा क्षेत्रमा मात्र खाजा र खाना खाने गरेका अध्यक्ष जोशीले बताए ।

होटल व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष तथा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईको गुनासो पनि उस्तै छ । राजमार्ग विस्तारले प्रभावित होटललाई न्यून व्याजदरमा ऋणको व्यवस्था गर्न वित्तिय संस्थासँग माग गरे पनि सुनवाई नभएको वरिष्ठ उपाध्यक्ष भट्टराईको भनाइ छ । धुलो नियन्त्रणका लागि राजमार्गमा नियमितरुपमा पानी हाल्ने गरेको मुग्लिन पोखरा सडक आयोजना कार्यालयका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनिया कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोडमा लिएको छ । सो कम्पनीले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो । हाल यस खण्डमा ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड प्रमुख स्याम यादवले बताए ।

त्यसैगरी जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनिया कम्पनी एनहुई केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठमा पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको र हालसम्म यसको २० प्रतिशत काम भएको सो आयोजनाका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्