Shikhar Insurance

भोटखोलामा सोमबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १८:३६
NIMB
Nabil Bank

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

सोमबार राति परेको चट्याङका कारण लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार चट्याङ परेपछि जेनेरेटरको चार्ज डाउन भएसँगै टावरमा समस्या देखिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रमुख राईले उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले बेलाबेला टावरमा समस्या आउने गरेको बताए । अवरुद्ध सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने भन्दै धनकुटाबाट प्राविधिक टोली माग गरिएको उनले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–२ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

उनका अनुसार विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै पनि सोलार उर्जाको भरमा सञ्चालन हुने गरेको छ । विद्युत् विस्तार नहुँदा मोबाइल प्रयोग गर्ने स्थानीयले मौसमको भरमा सेवा पाउने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्