Shikhar Insurance

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १३:४३
NIMB
Nabil Bank

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरित सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो ।

स्थानीयवासीको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले क्रसरको स्थलगत अनुगमन गरेको छ । अनुगमन पश्चात मापदण्ड विपरित क्रसर सञ्चालन भएको जिल्ला अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । पिखुवा खोला पुल निर्माणको क्रममा निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठले वि।स। २०७६ मा क्रसर सञ्चालन गर्नुभएको थियो । पुल निर्माण सकिएपछि पनि क्रसर निरन्तर सञ्चालन गरिएको हो । पुलबाट पाँच सय मिटर दुरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ । यहाँ सञ्चालित क्रसर पुलबाट ५० मिटर मात्र नजिक रहेको अनुगमन समिति संयोजक थुलुङले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

क्रसर राखेर गरिएको अवैध उत्खनन्ले पुलसँगै पिखुवा जलविद्युत आयोजना र बेलीब्रिज समेत जोखिममा छन् । अनुगमनका क्रममा यहाँ प्राकृतिक स्रोतको दोहन भएको पाइयो उनले भने खोलाले पुलसँगै अन्य संरचना बगाउने खतरा छ । प्राकृतिक स्रोतको दोहन हुँदा पनि भोजपुर नगरपालिका चुप लागेको देखिन्छ । क्रसरका सामान जफत गरी कारवाही गर्न भोजपुर नरपालिकालाई निर्देशन दिएका छौं ।

आयोजना सम्पन्न भएपछि क्रसर तत्काल बन्द गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सञ्चालनमै रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । पिखुवा खोलामा अवैध क्रसर सञ्चालनमा रहेको देखियो प्रजिअ सापकोटाले भने, शुरुमा पुल निर्माण प्रयोजनका लागि राखिएको क्रसर पुल बनेपछि पनि सञ्चालन भइरहेको देखिन्छ, यो अवैध हो ।

अवैध रुपमा सञ्चालित क्रसरको सामग्रीको मुचुल्का तयार गरी सात दिन भित्र सूचना जारी गरेर लिलाम बिक्री गर्न नगरपालिकालाई निर्देशन दिएको प्रजिअ सापकोटाले बताए । उत्खनन्कै कारण खोलाले धार परिवर्तन गर्ने अवस्थामा पुगेको छ । हाल क्रसरमा एक हजार तीन सय घनमिटर गिटी, एक हजार छ सय घनमिटर बालुवा र एक सय ५० घनमिटर ढुङ्गा सञ्चित छ । नगरपालिकाले ढुङगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड(२०७७ विपरित क्रसर सञ्चालन गरेको समितिको जिकिर छ ।

भोजपुर नगरपालिकाले भने निर्माण प्रयोजनका लागि क्रसर सञ्चालन गरिएकोले हटाउन नसकिने जनाएको छ । कानुन अनुसार क्रसर सञ्चालन गरिएको नगर प्रमुख कैलासकुमार आलेले बताए । केही प्रशासकले अनुगमनको बहानामा विकासमा अवरोध पु(याउन खोजेको प्रमुख आलेको आरोप छ । हामीले जिल्लाका आयोजना सञ्चालन गर्न क्रसर सञ्चालनको अनुमति दिएका छौँ उनले भने केही प्रशासक कुरा नबुझि कामलाई बाधा पुग्ने गतिविधिमा संलग्न हुनुभएको देखियो ।

अनुगमन समितिले रामप्रसाद राई गाउँपालिका(४ स्थित दमाईटारमा रहेको सिद्धकाली स्याण्ड वासिङ उद्योगको पनि स्थलगत अनुगमन गरेको छ । यो उद्योगले समेत मापदण्ड विपरित क्रसर सञ्चालन गरेको समितिको ठहर छ । अनुमति बिना क्रसर सञ्चालन गरिएको अनुमगन समितिका सदस्य कपिलदेव अधिकारीले बताए । समितिले उद्योगलाई आवश्यक कारबाही गर्न गाउँपालिकालाई लिखित निर्देशन दिएको छ ।

रामप्रसादराई गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र राईले ‘आईई रिपोर्ट’ तयार गरी ३० लाखमा बोलपत्र अनुसार उद्योग सञ्चालनको सम्झौता गरेको बताए । गैरकानुनी रुपमा गाउँपालिकाभित्र सञ्चालित क्रसरलाई कानुनी दायरामा ल्याउन पहल गर्ने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्