Shikhar Insurance

मोटरेवल पुल निर्माण कछुवा गतिमा, दुई पटक म्याद थप गर्दा ८० प्रतिशतमात्र भौतिक प्रगति

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार ११:४१
NIMB
Nabil Bank

बागलुङ । बागलुङको बडिगाडखोलामा निर्माणाधीन मोटरेवल पुल अझै सम्पन्न हुन सकेको छैन । निर्माण कार्य थालिएको चार वर्ष बिसिक्दा पनि भिमगिठे बजार र मालारानी गाउँ जोड्ने पुल सम्पन्न नभएको हो ।

बडिगाड गाउँपालिका–७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरी २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । विसं २०७९ फागुनमा निर्माण सक्ने सम्झौता भए पनि दुई पटक म्याद थप गरिएको छ । पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । पुल दुई वर्ष चार महिनामा सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो । पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ । हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताए । बडिगाडखोलामा हिउँदमा पानीको मात्रा अत्यधिक हुन्छ । यातायातका साधन वारपार गर्न समस्या हुने गरेको उनको भनाइ छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउँछन् । गाडी नचल्दा स्थानीयले झोलुङ्गे पुलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु¥याउने गरेका छन् ।

“बर्खामा गाडी चल्दैनन्, गाउँमा सामान बोकेरै ल्याउनुपर्छ, बिरामी बोकेर अस्पताल लैजानुपर्छ,” खत्रीले भने । पुल निर्माण गर्न दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिए । असार मसान्तसम्म सक्ने गरी कामदार लगाएर धमाधम काम गरिरहेको उनको भनाइ छ । पुल ७ करोड ६६ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्