Shikhar Insurance

छाडा चौपाया र बजारीकरणको सास्तीले खेती गर्नै छाडे कैलाली किसान, बारी बाँझै

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १२:२४
NIMB
Nabil Bank

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आएकी सरिताले यसपाली हिउँदे खेती लगाइनन्, खेत बाँझै रह्यो ।

छाडा पशु चौपायाको सास्तीले उनले खेती नलगाएकी हुन् । उनले हिउँदे खेती नलगाउँदा अहिले २० हजारको गहुँ खरिद गरेकी छिन् । उनले भनिन्,“आफ्नो जग्गा बाँझो राखेर अरुबाट खाद्यान्न किन्नुपरेको छ । यो सबै छाडा पशुचौपायाका कारण भएको हो । खेती लगायो भने चौपायालाई ठिक्क हुन्छ ।” केराखेती गर्दै आउनुभएका चक्रबहादुर घर्तीमगरले कृषि पेसाबाट किसानले उत्पादन गरे पनि छाडा चौपायका कारण बर्सेनि खेतीयोग्य जमिन खाली हुने अवस्थामा पुगेको बताए । चौपाया व्यवस्थापन नभएसम्म कृषकको लगानी खेर जाने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

टोल विकास संस्थाकी अध्यक्ष मायादेवी सोनाहाले अरुको जग्गा भाडामा लिएर कृषि गर्दै आएकी छिन् । उनको परिवार नै कृषिमा आश्रित छ । व्यावसायिक कृषि गर्दै आएकी उनी पनि छाडा पशुचौपायाले कृषि पेसाबाट विस्थापित हुने अवस्थामा पुगरेकी छिन् । “दुनियाँका चौपाया ल्याएर हाम्रो वडामा व्यवस्थापन गरिएको छ । त्यो नामको मात्रै व्यवस्थापन हुँदा किसानले खेती गर्न छोडेका छन् । यदि गौशाला व्यवस्थापन गर्न सक्यो भने कृषिमा ठूलो सम्भावना छ” उनले भनिन् ।

टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्दै आएको छ । गौशाला आसपासका किसानलाई गौशालाबाट आउने चौपायाले हैरान बनाएको छ । जुन गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका करिब एक हजारभन्दा बढी चौपाया व्यवस्थापन गरिएको छ ।

कृषि उत्पादनको बजारीकरण नहुनु अर्को समस्या

केराखेती गर्दै आएका खुशीराम चौधरी बजारीकरणको समस्याले उत्पादन भएको वस्तु लागत मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । बजारीकरणमा विचौलियाका कारण किसानमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उनको गुनासो छ ।

उनले भने,“किसानलाई सरकारले सहुलियत दिने हो भने उत्पादन हुने सबै वस्तुको मूल्य निर्धारण गर्ने काम राज्यले गर्नुपर्छ र उत्पादित वस्तु खरिद गर्ने काम राज्यले गर्न सक्नुपर्छ । यति गर्न सक्यो भने राज्यले कृषिका नाममा दिने अनुदान, सहयोग दिनु पर्दैन । बरु प्राविधिक सहयोग गरे किसानलाई राहत हुन्छ ।”त्यस्तै बङ्गुरपालक किसान पतीराम चौधरीले सीप नसिकी व्यवसाय सञ्चालन गर्दा ठूलो नोक्सानी बेहोर्नु प¥यो । किसानलाई प्राविधिक सहयोग र तालिम आवश्यक रहेको उनले बताए ।

“मैले एक सय सात वटा बङ्गुर पालेको थिएँ । त्यसमध्ये ७६ बङ्गुर मरे । त्यसमा २८ बङ्गुर बच्चा पाउने थिए । ती मर्नुका कारण पत्ता लगाउन सकिन”, उनले भने । एक वडामा एक जना प्राविधिकको व्यवस्था गरिदिएमा बङ्गुरबाट लाखौँ घाटा खानुपर्ने स्थिति नआउने उनको भनाइ छ । कृषि प्राविधिक वीरबहादुर चौधरीले स्थानीय सरकारले एक वडा एक कृषि प्राविधिकको व्यवस्थापन गर्दै किसानको खेतसम्म प्राविधिक पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले किसान एग्रोभेटप्रति पूर्ण आश्रित भएको बताए ।

टीकापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक चौधरीले कृषिबाटै आत्मनिर्भर बनाउन वडाले टोल विकास संस्थालाई जागरुक बनाउन लागेको बताए । “कृषिलाई व्यवसायीकरण गर्न एउटा टोल विकास संस्थालाई परीक्षणका रुपमा अदुवाखेती विस्तारको योजना वडाले बनाएको छ । यस वर्ष सफलता हासिल भयो भने वडाका १८ वटै टोल विकास संस्थालाई व्यवसायसँग जोड्ने छौँ । त्यसमा केही स्थानीयको लगानी आवश्यक हुन्छ । केही लगानी र त्यसको बजारीकरण वडा कार्यालयले गर्छ ” वडा अध्यक्ष चौधरीले भने ।

उनले कृषि सहकारीसँग समन्वय गरेर तरकारी सङ्कलन केन्द्र स्थापनाको तयारी गरिएको बताए । बडघर जितबहादुर चौधरीले किसानले उत्पादन गरेको वस्तुको बजारीकरण प्रमुख समस्याका रुपमा रहेको बताए । उनले किसानलाई समयमा बीउबिजन र मलखाद उपलब्ध नहुनु अर्को चुनौती रहेको बताए । “यहाँ दुई किसिमको किसान छन्, एउटा परम्परागत र अर्को व्यावसायिक । ती किसानलाई वर्गीकरण गरेर स्थानीय सरकारले सहयोग र समन्वय गर्न सक्यो भने वास्तविक किसानको पहिचान हुनसक्छ । यहाँ व्यवसायका नाममा अनुदान लिने काम भएको छ । वास्तविक किसानले अभावमा पनि कृषि पेसालाई अगालेको देखिन्छ” उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्