Shikhar Insurance

व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो : पूर्वप्रधानमन्त्री नेपाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १५:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौं जिल्ला समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गरे । उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए । “समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो”, अध्यक्ष नेपालले भने । उनले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताए । पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

उनले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गरे । अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए । अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उनको भनाइ छ । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए ।

उनले वर्तमान सरकार छ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे । पूर्वप्रधानमन्त्री नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे । विकसित मुलुकले विकासको नाममा प्रदूषण उत्पन्न गर्दा नेपालको सगरमाथामा असर परिरहेको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य एवं युवा सङ्घ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । नेत्री पन्तले पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरिन् । भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा सङ्घले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । युवा सङ्घ काठमाढौंका अध्यक्ष गौरीशङ्कर रानाले सबै युवालाई समेटेर अगाडि बढ्न काठमाडौँ युवा सङ्घले काम गर्दै आइरहेको बताए । उनले युवाका समस्या देखाउनेभन्दा समाधान गर्नेतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्