Shikhar Insurance

नेपालको उत्पादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विदेशी लगानीकर्तालाई डाक्नुपर्छ : अध्यक्ष सिंह

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १६:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विदेशी लगानीकर्ताहरुलाई डाक्नुपर्ने बताएका छन् । उनले बिहिबार एक पत्रकार सम्मेलनमा “नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१” बारे जानकारी दिदैँ यस्तो बताएका हुन् ।

अध्यक्ष सिंहले गाउँको उत्पादन राजधानीसम्म र राजधानीको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनका लागि यो मेलाले महत्वपूर्ण योगदान दिने बताए । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन हुने उक्त मेला बैशाख २६ गतेदेखि ३० गतेसम्म भृकुटीमण्डपमा हुने जानकारी दिदैँ उनले भने, ‘मेलामा प्रवेश गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीहरुका लागि ३० रुपैयाँको टिकट व्यवस्था गरिएका छौँ ।’

Citizen Life
Kumar Bank
Nepal Life

लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी मेला आयोजना गरेको बताउँदै सिंहले महोत्सवमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको समेत सहभागिता रहने बताए । महोत्सवमा २५० वटा स्टल रहने, २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने, ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने महासंघले विश्वास लिएको छ । महासंघका अनुसार मेलामा ५औं राष्ट्रिय मह मेला पनि संचालन हुनेछ ।

गत वर्ष नेपाल सरकार र अर्थमन्त्रीले मेलाका लागि विशेष आर्थिक सहयोग गर्ने आश्वासन दिएको भए पनि सरकारबाट कुनै पनि सहयोग नपाएको अध्यक्ष सिंहले गुनासो गरे । ‘गत वर्ष जस्तो नहोस् भनेर हामीले यसपालि सम्झौता गरेका छौँ । यसपाली गत वर्ष जस्तो हुदैन भन्ने आशा छ’ उनले भने ।

मेलामा काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतवाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु प्रदर्शन गरिने संघले जनाएको छ । साथै मेलामा नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, बैकल्पिक रनविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्