Shikhar Insurance

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:५४
NIMB
Nabil Bank

तनहुँ । दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिएका हुन् ।

यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौं पु¥याउनुपर्ने बाध्यता थियो । विशेषज्ञ सेवाको अभावमा अस्पतालमा यसअघि सामान्य प्रसूति सेवा मात्र हुँदै आएको डा बरालले बताए । डा बरालले भने,“यसअघि सम्भावित जोखिमलाई हेरेर प्रसूति गराउने गर्भवतीलाई पोखरा पठाउनुपर्ने अवस्था थियो । अब प्रसूति गराउने गर्भवतीलाई अन्यत्र पठाउनुपर्दैन, अस्पतालबाटै प्रसूतिको शल्यक्रियासमेत गर्न सकिन्छ ।” प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ सेवा प्रवाह गर्न व्यास नगरपालिकाको कार्यालयले भत्ताको व्यवस्थासमेत गरेको डा बरालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गर्भवतीलाई औषधि दिएर सामान्य डेलिभरी गराउँदै आएकामा जटिल अप्रेसन गरी पाँच महिलाले शल्यक्रिया गरी शिशुलाई जन्म दिएको अस्पतालका सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिए । “शिशु जन्माउन पनि अन्यत्र जानुपर्ने अवस्था रोकिएको छ । गर्भवतीका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवासमेत सञ्चालन गरिएको छ” नर्सिङ निरीक्षक परियारले बताए ।

अस्पतालमा अहिले दैनिक करिब ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेसन, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, महिनामा एकपटक मिर्गौला रोग विशेषज्ञबाट मिर्गौला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्