Shikhar Insurance

निषेधाज्ञामाझ सेयरमा लगानी कसरी गर्ने ? कसरी कमाउने ?

राजन लम्साल
२०७८ जेष्ठ ४, मंगलवार ११:४०
NIMB
Nabil Bank

बैंकले दिएको प्रतिफल र व्यावसायीक वृद्धि म्याच हुन्छ कि हुँदैन ? प्रतिफलको स्रोत के छ ? राम्रोसँग केलाउनुस् । कम्पनीको सञ्चालक समितिमा के कस्ता मान्छे छन् ? यी कुरा समग्रमा बुझेर सानो तथा सस्ता कम्पनीका थोरैथोरै जोडेर दोस्रो बजारमा प्रवेश गर्नुस् । नयाँ लगानीकर्ताले यीनै तरिका अपनाउनुपर्छ ।

कोभिड १९ को मध्यनजर गर्दै देशैभर निषेधाज्ञा छ । स्वास्थ्य जोखिम ख्याल गर्दै कोही पनि घरबाट निस्कने जोखिम मोल्नु हुँदैन । घेरै बस्नुको विकल्प नभएको बेला पुँजीबजारमा ‘इन्गेज’ हुनु उत्तम अवसर हो ।

लगानीकर्ताले आफ्नो हिसाबले कम्पनी विश्लेषण गर्ने अवसर मिलेको छ । नयाँ लगानीकर्ताले कम्पनीको ज्ञान लिने, अनुभवी लगानीकर्ताले कुन आधारमा सेयर खरिदबिक्री गरिरहेका छन्, त्यसलाई अवलोकन गर्ने, बजारको ट्रेन्ड विश्लेषण गर्ने समय मिलेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर कारोबार अनलाइन माध्यमबाट गर्न पाउनु हाम्रा लागि ठूलो उपलब्धी हो । सयर बजारमा प्रवेश गर्न खोज्ने लगानकर्ताले यसर्थमा सबैभन्दा गर्नुपर्ने काम ब्रोकरबाट अनलाइन कारोबारको युजर आईडी लिनु नै हो । हालसम्म करिब ७ लाख जनाले अनलाइन कारोबारको युजर आईडी पासवर्ड लिइसक्नु भएको छ । उहाँहरुलाई बजारबाट लाभ लिने अवसर निषेधाज्ञा दिएको छ ।

निषेधाज्ञा माझ लगानी गर्दा केही कुराहरुलाई ध्यानमा राख्नुपर्छ । भर्खरै सेयरको दोस्रो बजारमा प्रवेश गर्नेहरुले रिस्क प्याटर्नमा लगानी नगर्नु उत्तम हुन्छ । जोखिम मोल्ने काम अनुभवको हिसाबले मात्र गर्न राम्रो हुन्छ ।

यो बेलामा दिनभर बसेर रिस्क नभएका कम्पनी सूची बनाउनुस् । ती कम्पनीको १ सय कित्ता किन्नु छ भने २०–२०–३०–३० कित्ता गरेर सय पुर्‍याउनुस् । त्योभन्दा अघि कम्पनीलाई राम्रोसँग अध्ययन गर्नुस् ।

कुनैपनि कम्पनी किन्नुअघि हालसम्म सार्वजनिक भइसकेको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्नुस् । सो विवरण अनुसार सो कम्पनीको वित्तीय परिसूचक हेर्नुस् । बैंकको हेर्ने हो भने निक्षेप, कर्जा प्रवाह, ईपीएस, पीई रेसियो आदि हेरेर विगतको सूचांकसँग तुलना गर्नुस् ।

बैंकले दिएको प्रतिफल र व्यावसायीक वृद्धि म्याच हुन्छ कि हुँदैन ? प्रतिफलको स्रोत के छ ? राम्रोसँग केलाउनुस् । कम्पनीको सञ्चालक समितिमा के कस्ता मान्छे छन् ? यी कुरा समग्रमा बुझेर सानो तथा सस्ता कम्पनीका थोरैथोरै जोडेर दोस्रो बजारमा प्रवेश गर्नुस् । नयाँ लगानीकर्ताले यीनै तरिका अपनाउनुपर्छ ।

मोबाइलबाटै टीएमएसमार्फत् सेयर खरिद बिक्रीको अवसर लगानीकर्तालाई मिलेको छ । खरिदको रकम पठाउन ब्रोकर कार्यालयसम्म जानुपर्ने स्थिति छैन । केही लाखसम्म मोबाइल बैंकिङबाट र त्योभन्दा बढी आईपीएसबाट पठाउन सकिन्छ । यस्तै सेयर बेचेको रकम पनि बैंक खातामै प्राप्त हुन्छ ।

घरैमा बसेर सेयर कारोबारमा पोख्त हुने अवसर निषेधाज्ञाले दिएको छ ।

निषेधाज्ञाका १७ दिन लगानीकर्ताका लागि सिक्ने अवसर भएको छ । यी दिनमा सबै क्षेत्र बन्द छन् । व्यापार, पर्यटन तथा आतिथ्य क्षेत्र, यातायात सेवा, आफ्नै पेशा भएकाहरुको दैनिकी प्रभावित बनेको बेलामा एउटामात्र विकल्प देखेका छन् । सेयरको दोस्रो बजार खुल्लै छ । यहीकारण सबैको लगानी यतैतिर आएको हो ।

पहिलेदेखि नै अरु क्षेत्र नखुले पनि सेयर कारोबार खुल्लै रहने रहेछ भन्ने सन्देश मिलेको छ । सेयर बजारमा लगानी गर्दा २–४ पैसा कमाउन सकिने रहेछ भन्ने बुझ्न थालेका छन् ।

पहिलो त, टाइम पास भयो । दोस्रो, २–४ पैसा घरमै बसेर कमाउन सकियो । दोस्रो बजारलाई यसर्थमा सुरक्षित तथा लगानी गर्ने अवसर सोच्न थालेका छन् ।

यो सबैको कारण अनलाइन कारोबारको व्यवस्था हो । यद्यपी पूर्ण स्वचालित अनलाइन कारोबारको व्यवस्था अझै भएको छैन । अझै पनि सेमी–अनलाइन कारोबार गर्छौं । अहिले पनि ब्रोकरसँग कारोबार लिमिट माग्नुपर्छ । लिमिट माग्न फोन उठ्दैन, भनेको जति लिमिट दिँदैनन् ।

सेयर किन्न अझै पनि ब्रोकर मै भर पर्नुपर्छ । ब्रोकरले लिमिट नहालेसम्म सेयर किन्ने अर्डर दिनै मिल्दैन । ब्रोकरले खातामा सेयर नहाल्दिए सम्म बेच्नै मिल्दैन । आज सेयर खातामा आए भोलिमात्र बेच्न सकिन्छ ।

अझै पनि फुल अटोमेटेड अनलाइन कारोबारको व्यवस्था छैन । तर, ‘नहुने मामाभन्दा कानो मामा बेस’ भने झैं यो ठूलो उपलब्धि साबित भएको छ ।

अनलाइन कारोबार प्रणाली अहिले पनि धेरै समस्या छन् । विकासकर्ता कम्पनी वाईकोले अझैं यी समस्या समाधान गर्न सकेको छैन ।

यद्यपि, पोहोरको जस्तो अवस्था छैन । गत वर्ष सेयर बजार नै बन्द गर्नुपर्ने स्थिति थियो । हामी आफैं नेप्से र नेपाल धितोपत्र बोर्डकहाँ अनुरोध गर्न पुगेका थियौं ।

१ महिना बजार बन्द पनि भयो । कारण हो, गत वर्षको यही बेला सर्वसाधारण लगानीकर्ता अनलाइन कारोबारमा अनलाइनमा अभ्यस्त हुनुहुँदैन थियो ।

सेयर कारोबारको दोस्रो बजारमा निकै धेरै संरचनागत उपलब्धि भएका छन् । नेपाल राष्ट्र बैंकले पनि सेयर कारोबार डिजिटल भुक्तानीको सीमा बढाएको छ । सुविधै सुविधा मिलेका कारण अनलाइन कारोबार सजिलो भएको हो ।

यो अवसरका माझ के कस्ता सूचक हेरेर कम्पनी छनोट गर्ने त ? भन्ने प्रश्नमा मेरो जवाफ हुन्छ, “नयाँ तथा सिक्दै गरेका लगानीकर्ताले अनुभवी लगानीकर्तासँग परामर्श लिन जरुरी हुन्छ । अनुभवी लगानीकर्ता कुन कम्पनी किन्दैछन् ? के कस्ता आधारमा सेयर किन्दैछन् ? भन्ने अवलोकन गर्नुपर्छ । तर, कम्पनी छनोट आफ्नो हिसाबले गर्नुपर्छ । नजानेका मान्छेले जान्ने मान्छेसँग सोध्नैपर्छ ।”

नयाँ लगानीकर्ताले मलाई नै कुनै कम्पनीका बारेमा सोध्नुभयो भने म भनिदिन्छु । नयाँ साथीहरुप्रति मेरो दायित्व पनि हो । कम्पनीको प्रगति कस्तो छ ? सञ्चालक को हुन् ? ती कम्पनीको सेयर किन्दा अल्पकाल र दीर्घकालमा के फाइदा हुन्छ ? मैले जानेको सिकाइदिन सक्छु ।

नयाँ लगानीकर्ताले पुराना लगानीकर्तासँग केही न केही सुझाव त लिनैपर्छ । कति समयको पर्खाईले कति फाइदा दिन्छ ? अनुभवीहरुबाट बुझ्न सकिन्छ । अनुभवी लगानीकर्ताको संगत गर्नुको आवश्यकता पनि यही हो ।
त्यसो भए कुनकुन वित्तीय सूचक हेरेर लगानी गर्ने ?

सर्वप्रथम कम्पनीले तेस्रो त्रैमाससम्म कति खुद नाफा गरेको छ, त्यो हेनुपर्छ । ९ महिनाको तथ्यांकले बाँकी ३ महिनाको अनुमानित झल्को दिन्छ । तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी २० रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी पनि त्यति हुने मान्नुपर्छ ।

खुद मुनाफा हेरेर कति कमाइ कुन स्रोतबाट गरेको हेर्न जान्नुपर्छ । मुनाफामध्ये कति रकम रिजर्भमा राखेर कति रकम लगानीकर्तालाई प्रतिफल दिने हो, लगानीकर्ता आफैंले हिसाब गर्न जान्नुपर्छ ।
यो निषेधाज्ञालाई लगानीकर्ता यीनै विषय विश्लेषण गर्न जान्ने हुन उपयोग गर्नुपर्छ ।

अहिले बजार धेरै नै माथि आइसकेको छ । पहिलाको जस्ता ‘लोअर साइड’मा छैन । यसले गर्दा जोखिम पक्कै बढाएको छ । कुनै पनि कमाइ नभएको, फन्डामेन्टलले सपोर्ट नगर्ने कम्पनीको मूल्य पनि अति नै उच्च छ । त्यस्ता कम्पनी भन्दा आधारभुत सूचांकहरु पीई रेसियो, निक्षेप, कर्जा, कमाइको स्रोत, प्रतिसेयर आम्दानी राम्रा भएका कम्पनी छान्नुपर्छ ।

प्रतिसेयर आम्दानीको स्रोत के हो केलाउन जान्नुपर्छ । गत वर्ष के थियो ? र, यो वर्ष के छ ? भन्ने हेरेर दीगो प्रतिफल अनुमान लगाउनुपर्छ । प्रतिफलको क्षमता हेरेर हाल्ने अधिकतम मूल्य आफैंले तय गर्नुपर्छ ।
हल्लैहल्लामा लगानी गर्नु हुँदैन ।

उदाहरणका लागि राइट सेयर (हकप्रद)को लागि बढी मूल्य हाल्ने नयाँ लगानीकर्ताको संख्या धेरै छ । उहाँहरुलाई राइट सेयरले प्रतिफल बढाउने नभएर घटाउने काम गर्छ भन्ने थाहै हुँदैन वा थाहा भएर पनि उस्तै कम्पनीतर्फ ध्यान दिनुहुन्छ । राइट सेयरले कम्पनीको पुँजी बढाउने हो । निश्चित नाफा भएको कम्पनीमा लगानी बढ्दा प्रतिसेयर आम्दानी घट्छ भन्ने लगानीकर्ताले बुझ्न जरुरी छ ।

राइटले कुनै पनि अर्थमा कम्पनीलाई बलियो बनाउने होइन । राइटले पुँजी बढाउँछ । मर्जले कम्पनी बलियो बनाउने पक्का हो ।

तर, बजारमा राइट र मर्जका नाममा सेयरको मूल्य बढाइन्छ । यस्ता हल्ला फिँजाएर भोलि नै सर्किट हान्ने लोभमा सोझा लगानीकर्तालाई झुक्याइन्छ । मर्ज वा राइटको हल्लाले हौसिएका लगानीकर्ता निराधार हल्लाको भरमा लगानी गर्नुहुन्छ ।

चतुर लगानीकर्ताले सोझा लगानीकर्ताको यो कमजोरीबाट लाभ कुम्ल्याउँछन् भन्ने नयाँ लगानीकर्ताले जान्न जरुरी छ ।

(अनुभवी लगानीकर्ता लम्साल नेपाल इन्भेस्टर्स फोरमका महासचिव तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सदस्य हुन् । पुँजीबजारमा लम्सालको १६ वर्षको अनुभव छ ।)

GBIME

प्रतिक्रिया दिनुहोस्