Shikhar Insurance

अदुवा उत्पादक तनहुँका कृषक मारमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार ११:०३
NIMB
Nabil Bank

तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । वैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले जानकारी दिएका हुन् ।

अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब २ लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ । समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन थापामगरले भने ‘समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले हामी कृषक चिन्तामा छौं ।’ आफूहरुको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार ५० हजारदेखि २ लाखसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ । तनहुँमा उत्पादित अदुवाको बजार भारत हो । अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकोले पनि आफूहरु अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताए । भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट सङ्कलित अदुवा नवलपुरको दलदलेमा सङ्कलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् । गत वर्ष प्रतिकिलोग्रामको करिब रु ७० देखि ८० मा अदुवा र बीउको करिब सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ ।

आर्थिक वर्ष २०७९/२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार छ सय ५४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए । केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बीउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताए ।

समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक प्रत्यक्ष मारमा परेका छन् वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले भने ‘केही दिन पानी नपरे खडेरीले अदुवा र मकै दुवै खेतीलाई असर पार्ने आंकलन गरेका छौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्