Shikhar Insurance

भारत सरकारको २ करोड अनुदानमा गोरखामा स्वास्थ्यचौकी भवन निर्माण

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १४:३०
NIMB
Nabil Bank

गोरखा । पालुङ्टार नगरपालिका–८ स्थित धुवाँकोटमा रहेको धुवाँकोट स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । भारत सरकारको अनुदान सहयोगमा १ करोड ९९ लाख ५५ हजार नौ सय ४९ (भ्याटबाहेक) को लागतमा सो स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

भूकम्पले क्षति पुगेको स्वास्थ्य चौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत भवन निर्माणको काम सम्पन्न भएको स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबाबु श्रेष्ठले जानकारी दिए । “नवनिर्मित भवन आठ कोठाको रहेको छ, स्वास्थ्यचौकी भवनमा रहेका चार कोठामा भने भित्र नै शौचालयको व्यवस्था रहेको छ, भवनको बाहिर अपाङ्गगतामैत्री शौचालय निर्माण भएको छ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

विसं २०७९ माघमा निर्माण सम्पन्न गर्नुपर्ने स्वास्थ्यचौकी भवन ढिलोगरी भर्खरै मात्र सम्पन्न भएको हो । भवन निर्माणका लागि तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइ (गोरखा)ले खानी निर्माण सेवा प्रालिसँग विसं २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । “स्थानीयस्तरबाट चन्दा सङ्कलन गरेर निर्माण गरिएको सामान्य भवनबाट अहिले स्वास्थ्य उपचार सेवा प्रदान गरिँदै आएको छ, अहिले बनेको स्वास्थ्य चौकी भवन सुविधासम्पन्न रहेको छ”, प्रमुख श्रेष्ठले भने ।

उक्त स्वास्थ्यचौकीमा पालुङटार नगरपालिका–६, ७ र ८ का साथै गोरखा नगरपालिका–१४ का नागरिक स्वास्थ्य उपचारका लागि पुग्ने गर्दछन् । पाँच स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले चार स्वास्थ्यकर्मीले स्वास्थ्य उपचार सेवा दिइरहेका छन् । “साँघुरो भवनबाट उपचार सेवा प्रदान गर्नुपर्दा स्वास्थ्य मापदण्डअनुसार बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको थियो, मापदण्डअनुसारको भवन निर्माण भए पनि अब न्यूनतमरुपमा दिनुपर्ने सेवा दिनका लागि पनि सजिलो हुने भएको छ”, उनले भने ।

धुवाँकोट स्वास्थ्यचौकीबाट खोप कार्यक्रम, एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम, स्वास्थ्य शिक्षा तथा पोषण, परिवार नियोजन, सुरक्षित मातृत्वलगायतका अन्य आधारभूत स्वास्थ्य उपचार सेवा नागरिकलाई उपलब्ध गराइँदै आएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवन यही वैशाख २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्