Shikhar Insurance

”कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बन्ने सभावना क्षीण”

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । परिवार दलका अध्यक्ष एवं नेकपा एमालेका सांसद एकनाथ ढकालले आजकै अवस्थामा नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बन्ने सभावना क्षीण भएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद ढकालले यस्तो बताएका हुुन् ।

उनले भने, “कांग्रेसले चाहेमा वर्तमान गठबन्धनभित्र भनेको मन्त्रालय पाउनका लागि रातो कार्पेटले स्वागत गर्न तयार छ तर आजकै अवस्थामा वर्तमान गठबन्धन भत्काएर एमाले र कांग्रेसको नयाँ गठबन्धन बन्ने सम्भावना छैन । भोलि समयको आवश्यकताअनुसार गठबन्धन होला त्यो अर्कै पक्ष हो ।” उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्वको गठबन्धनलाई निरन्तरता दिएर बलियो बनाउँदै लगिनुपर्ने र वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्न प्रतिक्रियावादी षड्यन्त्र भएको बताए । ढकालले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाउनु भनेको प्रतिगामी कदम भएको टिप्पणी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले संसदको आगामी अधिवेशन विगतको जस्तो बाधा, व्यवधानयुक्त नभई गतिशील हुने बताउँदै भने, “नेपालको मौलिकता र जनताको आवश्यकतालाई सम्बोधन गर्ने खालको बजेट आउँदैछ । जहाँसम्म कांग्रेसको अवरोधको विषय छ, मेरो व्यक्तिगत विचारमा कांग्रेसको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग नाजायज हो भन्ने लाग्दैन । तर छानबिन समिति व्यक्ति केन्द्रित हुनुहुँदैन । संसदीय समिति गठन गर्न सरकार पनि वाधक होला जस्तो मलाई लाग्दैन । त्यसकारण छानबिन समिति बन्ने सम्भावनालाई नकार्न सकिन्न ।”

सांसद ढकालले भने, “लोकतन्त्रमा दलहरू फुट्नु राम्रो कुरा होइन । हिजो मात्रै जसपा नेपालमा देखिएको फुटले वर्तमान सत्ता गठबन्धनलाई कुनै असर पार्ला जस्तो मलाई लाग्दैन । दलहरू फुट्नाले राजनीतिक स्थिरतालाई बल दिँदैन । त्यसले अस्थिरता उत्पन्न हुन्छ । मुलुकलाई राजनीतिक स्थिरता आवश्यकता छ । त्यसकारण पनि वर्तमान गठबन्धनलाई मजबुत बनाएर निराशालाई आशामा बदल्नु पर्दछ ।”

उनको टिप्पणी छ, “मुलुकको समग्र विकासका लागि पूर्ण बहुमतको स्थायी सरकार आवश्यकता पर्ने हुनाले अहिलेको परिस्थितिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा खारिएको पार्टी नेकपा एमाले भएको र त्यस पार्टीको लोकप्रिय नेता केपी शर्मा ओली भएकाले उनकै नेतृत्वमा सरकार बनेमा देशमा राजनीतिक स्थायित्व र विकासनिर्माणका कामले गति लिने विश्वास गर्न सकिन्छ ।” उनले भने, “संविधान बनिसकेपछि केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूभित्र विदेशी हस्तक्षेप कम गर्दै लगेको र उनकै नेतृत्वमा नेपालको नयाँ नक्सा जारी भएबाट यो स्पष्ट छ कि ओली नै एकमात्र त्यस्तो नेता हो जसले वैदेशिक हस्तक्षेपलाई ठाडो अस्वीकार गर्न सक्छ । नेपालका राजनीतिक दल र तिनका नेताहरूमा आफ्नो शक्तिले सत्तामा पुग्न सकिन्न भन्ने मानसिकता भएकाले यस्तो दुष्प्रवृत्ति त्याग्न सक्नुपर्दछ ।”

एक प्रसंगमा उनले भने, “एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य छ । यो नितान्त नेपालको आन्तिरिक मामिला भएको र यो सरकारको निर्णय कुनै छिमेकी राष्ट्रविरुद्ध छैन । यसमा कुनै नकारात्मक टिप्पणी वा प्रतिक्रिया दिइराख्नु आवश्यकता छैन । जहाँसम्म नेपाल–भारतबिच सीमा विवादको कुरा छ, त्यो दुबै देशका सरकारले कूटनीतिक स्तरमा संवाद गरेर समाधानतर्फ जानुपर्दछ।”

सांसद ढकालले नेकपा एमाले र परिवार दलबिच कार्यगत एकता र समझदारी कायम गरेर भिन्नाभिन्नै राजनीतिक गतिविधि अगाडि बढाइरहेको जानकारी दिँदै संसदभित्र आफू एमालेको अनुशासित सांसद भएको स्पष्ट पारे । उनले संसदीय कामकारवाहीमा आफूलाई एमालेको ह्विप लाग्ने तर संसदबाहिर हामी अलग्गै अस्तित्वका साथ काम गर्न स्वतन्त्र रहेको र स्वतन्त्र रूपमा नै काम गर्दै आएको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्