Shikhar Insurance

म्याग्दीको विकट खतेन गाउँको ६० घरमा विद्युत् सेवा विस्तार

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार १०:०१
NIMB
Nabil Bank

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । उनले भने,“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो । खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

“मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ । विद्युत् प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ” उनले बताए । नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो ।

मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष २० करोड बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्