Shikhar Insurance

तर्बुजा खेतीबाट घरखर्च चलाउँदै कञ्चनपुरका किसान, बिक्री गर्न राजमार्गमै बास

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १२:०८
NIMB
Nabil Bank

बेदकोट । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरिद गर्ने गर्छन् ।

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन् । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन् । रामकृष्णले भने,“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ । दैनिक ३/४ हजारको बिक्री हुन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ । “गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघानुभएको छ । यो सिजनमा राम्रो आम्दानी हुन्छ” उनले भने । वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन् । उनले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन् ।

“आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट ३० मा प्रतिकिलोग्राम किनेर ५० मा बेच्दैछौँ । केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ” राना बताउँछन् । वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् । “सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ । अहिले बगरमा भारतीय छैनन्” उनले भने ।

माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ । बासपति रानाले भने,“अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन । ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ । अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्