Shikhar Insurance

यो वर्ष ‘अत्यावश्यक’ भन्दै अन्तिम दिन गरिने खर्च भएन, कर्मचारीहरू सम्साँझमै घर पुगे

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार २१:१९
NIMB
Nabil Bank

काठमाडौं । विगतका आर्थिक वर्षको अन्तिम दिन राज्यकोषबाट हुने अर्बौं रूपैयाँ  खर्च आव २०७७/७८ मा भने रोकिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ कार्यान्वयनमा आएसँगै अन्तिम दिन हुने ४० अर्ब रूपैयाँ सम्मको खर्च ‘शून्य’ भएको हो ।

नियमावलीमा आवको अन्तिम वर्ष अत्यावश्यक बाहेक भुक्तानी नदिने र अन्तिम दिन अत्यावश्यक खर्चको भुक्तानी पनि नदिने व्यवस्था छ । जसअनुसार असार ३१ गते बिहीबार तीनै तहको भुक्तानी बन्द गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

“देशभर अत्यावश्यक भन्दै भुक्तानीको धेरै माग भएको थियो । तर, हिजो राति १२ बजे नै भुक्तानी बन्द गरियो,” अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख सुमन दाहालले भने, “त्यसले गर्दा वित्तीय अनुशासन कायम गर्न ठूलो मद्दत पुग्यो ।”

गत आवको अन्तिम दिन २८ अर्ब रूपैयाँ खर्च भएको थियो ।

दाहालका अनुसार आव २०७७/७८ मा अघिल्लो वर्षभन्दा १ खर्ब बढी बजेट खर्च भएको छ । गत आवमा लक्ष्यको ५० प्रतिशत पनि नपुगेको पुँजीगत खर्च ६५ प्रतिशत भएको छ ।

“हिसाब मिलान प्रयोजनका लागि १ दिन अघि नै खाता बन्द गर्न निर्देशन दिएकाले अन्तिम दिन हुने ठूलो रकम खर्च नियन्त्रण भएको छ,” दाहालले भने, ” एक किसिमले वित्तीय अनुशासन पालना भएको छ । हामी सम्साँझमै घर आइसक्यौं । पोहोर मध्यरातसम्म घर आइपुगिँदैन थियो ।”

वर्षको अन्तिममा रकमान्तरको नाममा एउटामा परियोजनामा बचेको पैसा अर्कामा भुक्तानी हुने गर्थ्यो ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले पनि बिहीबार बजेट खर्च नभएको बताए ।

“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले अन्तिम दिन भुक्तानी दिन निषेध गरेको छ । ३१ गते कारोबार हुँदैन,” उनले थपे, “नियमावलीले अन्तिम दिनमा सरकारी राजस्व जम्मा गर्ने र हिसाब मिलान गर्ने कामबाहेक अरू काम गर्न बन्देज लगाएको छ ।”

विगतमा अन्तिम दिन पनि खर्चको कारोबार हुन्थ्यो । तर, आज अन्तिम दिन आम्दानी जम्मा गर्ने र खर्चतर्फ हिसाबमिलान गर्ने काम मात्र भयो । “नियामावलीको नियम ३० को उपनियम ३ मा यस्तो व्यवस्ता छ,” पौडेलले थपे ।

आव २०७७/७८ मा कुल ११ अर्ब ८० करोड रूपैयाँ खर्च भएको छ । जसमध्ये ७१ अर्ब पछिल्लो ६ दिनमा खर्च भएको हो भने २ खर्ब ६४ अर्ब असारमा मात्र खर्च भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्