Shikhar Insurance

अटोमोबाइल्स साहुहरुलाई चुनाव लाग्योः चौधरी र थापा मैदानमा, कर्पाेरेट हाउसहरु कता ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुलाई चुनाव लागेको छ । अहिले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षका लागि करण चौधरी र ध्रुव थापा मैदानमा छन् ।

सुजुकी मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सीजी होल्डिङसका निर्देशक चौधरी नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । फोर्स मोटर्सको पोखरा डिलरवाला थापा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

मैदानमा दुई उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको भएपनि ठूला कर्पाेरेट हाउसहरु पूर्णत विभाजित बनेका भान अहिले सबैलाई भएको छ ।

चौधरीलाई यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यु यन्टरप्राइजेज, टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ, अशोक लेलेण्डको आईएमई, हिरोको नेपाल जनरल मार्केटिङ, महिन्द्राको अग्नि इन्कर्पोरेटिडको साथ रहेको छ ।

उता, थापासँग टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स, हुण्डाईको लक्ष्मी हुण्डाई, फोर्ड, फोर्स, रेनो, फक्सवागन लगायतका आधिकारीक वितरकको साथ रहेको बुझिएको छ ।

कसको मत कति ?
नाडामा ३२ सय मतदाता छन् । नाडाको विधानले सम्बन्धित मतदाताबाट अनुमति लिएर प्रतिनिधी मार्फत भोट हाल्न पाइने व्यवस्था छ । तर, यो उद्योग वाणिज्य महासंघको प्रोक्सी जस्तो भने होइन ।

श्रोतका अनुसार हालसम्म करण चौधरीले एक हजार ५ सय वटा मतको मताधिकार लिइसकेका छन् । थापाले पनि एक हजार ३ सय मतको मताधिकार पाई सकेका छन् । बाँकी रहेको ४ सय मतदाताले हारजितमा निर्णायक भूमिका खेल्ने बताइएको छ ।

दुवैतिर नखुलेका अधिकांश सदस्यहरु स्पेयर पार्टस बेच्ने प्रतिनिधी हुन् । उनीहरुकै मतका आधारमा नयाँ नेतृत्व चयन हुने चर्चा नाडामा छ ।

चौधरीले आफू भन्दा झण्डै २ सय बढी प्रतिनिधीको मताधिकार लिएपछि थापा अब नयाँ रणनीतिमा लागेका छन् । उनले चौधरीलाई दिएका प्रदेश १ र गण्डकीका करिब २ सय प्रतिनिधीको मताधिकार फिर्ता लिन कन्भिन्स गराउने योजना बनाइरहेका छन् । राजनीतिक पृष्ठभूमिमा समेत जोडिएका थापाले अध्यक्ष बन्न त्यसको पनि उपयोग गर्ने अनुमान लगाइएको छ ।

साना व्यवसायी हावी हुँदै
नाडा भन्ने नाम सुन्ने वित्तिकै गाडी व्यवसायीहरुको झल्को आउँछ । तर, नाडामा यतिबेला स्पेयर पार्टस व्यवसायीहरु निर्णायक अवस्थामा छन् । ठूला कर्पाेरेट हाउसहरुको व्यावसायीक स्वार्थ बाझिँदा स्पेयर पार्टस बिक्रेता हावी भएका हुन् । ठूला घरानीयाहरु आ-आफ्नो व्यावसायीक प्रतिष्पर्धालाई नयाँ नेतृत्व चयनमा मिसाइरहेकाले साना व्यवसायी बलिया भएका हुन् ।

सर्वसम्मतिको प्रयास
नाडाको नयाँ नेतृत्व सर्वसम्मत बनाउनेबारे हालको नेतृत्वले कसरत गरिरहेको छ । दुवै पक्षले सहमतिको रटान लगाउन छाडेका छैनन् ।

तर, दुवैले सर्वसम्मतिको सहमति आफ्नो नाममा हुनुपर्ने बताइरहेका छन् ।

नाडा अध्यक्ष कृष्ण प्रसाद दुलालले पनि सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताए । ‘सहमतिमा नेतृत्व छान्ने प्रयास जारी छ, हामी दुवै पक्षलाई मनाउने प्रयासमा छौं,’ दुलालले सिंहदरबारसँग भने ।

मुरारका, गोल्छा कता ?
दुवै समुहले पशुपति मुरारका र शेखर गोल्छा आ-आफ्नो पक्षमा रहेको दावी गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले आफू कसैतर्फ पनि खुल्न नमिल्ने बताएको दुवै समुहको दावी छ । महासंघका विशिष्ट सदस्य मुरारकाले पनि कसैलाई आश्वासन नदिएको बताइन्छ । यी दुई पात्रको समर्थनले पनि हारजितमा महत्त्व राख्छ ।

प्यानल घोषणा हुँदै
अध्यक्षका बलिया दाबेदार करण चौधरी समुहले बुधबार आफ्नो प्यानल घोषणा गर्दैछ । थापा समुहले भने बिहिबार प्यानल घोषणा गर्ने तयारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्